ज्ञानेन्द्रपथमा ओली, समाप्त हुने निश्चितः बालकृष्ण खाँण

बुटवल । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री खड्गप्रसाद ओली ज्ञानेन्द्रपथमा लागेका आरोप लगाएका छन् ।

बुटवलमा शनिबार आयोजित कार्यक्रममा नेता खाँणले ओलीका गतिविधि र क्रियाकलापहरू पूर्वराजा ज्ञानेन्द्र शाहकै पथमा रहेको बताए । उनले अधिकांश समय दुईतिहाइको कम्युनिस्ट सरकारको आलोचनामा खर्चिएका थिन् ।

‘तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफैं राजा हुँदा पनि नपुगेर प्रधानमन्त्री पनि बन्न मन लाग्यो र सकिए’, उनले भने, ‘अहिले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पनि शक्तिको भोक लागेको छ । उनी पनि ज्ञानेन्द्रकै पथमा छन् ।’

प्रधानमन्त्रीले अधिकारहरू आफूमा केन्द्रिकृत गर्दा ओलीतन्त्र पनि समाप्त हुने खाँणको चेतावनी छ । ‘ओलीतन्त्र समाप्त हुन्छ, ज्ञानेन्द्रकै पथमा अनुयायी बन्दा ओलीको ज्ञानेन्द्रकै हालत हुन्छ’, उनले अघि भनेका छन् ।

दुईतिहाइको कम्युनिस्ट सरकार साम्यवादी दिशामा अघि बढेको भन्दै उनले प्रधानमन्त्री ओली जवाफदेही, जिम्मेवार र पारदर्शी हुन नसकेको बताए ।

नेपाली कांग्रेसका नेता खाँणले वर्तमान ओली सरकारलाई हिलो खेतमा लगाएको आलुको संज्ञा दिए । ‘हिलो खेलमा जनताले आलु लगाइदिए’, उनले भने, ‘अब फल्छ की सड्छ ? धान लगाउनुपर्नेमा आलु लगाएपछि के आशा गर्नु ।’

Published : Saturday, 2019 July 20, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया