नेपालको रणनीति बुझेपछि दाहाल–ओलीबीच वार्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार बचाउन नेकपा (एकीकृत समाजवादी)ले हल्लाखल्ला गरिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबिच भेटवार्ता भएको छ ।

बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा दाहाल र ओलीबीच भेटवार्ता भएको छ । भेटमा के कुरा भयो ? औपचारिक रुपमा केही भनिएको छैन ।

दाहाल र ओलीबीच सुदूरपश्चिम सरकारका बारेमा छलफल केन्द्रित रहेको बुझिएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम सरकार बचाउन सत्ता गठबन्धनविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । अध्यक्ष नेपालले सरकार छाड्नेसम्मको धम्की दिँदै आएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का मुख्यमन्त्री दीघबहादुर सोडारीले शुक्रबार सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । सोडारी नेतृत्वको सरकारलाई समर्थन गरे पनि एमाले र माओवादी केन्द्रले सहभागी नहुने जनाउँदै आएका छन् ।

दाहाल र ओलीबीच नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालको असन्तुष्टि तथा धम्कीका विषयमा पनि छलफल भएको बुझिएको छ । अध्यक्ष नेपालले पछिल्लो समय रणनैतिक रुपमा सत्ता गठबन्धनविरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति दिने गरेका छन् । नेपालका अभिव्यक्ति र गतिविधिलाई ओलीले टेरपुच्छर लगाएका छैनन् ।

Published : Thursday, 2024 May 2, 2:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया