निधिसहित कांग्रेस नेताहरूलाई महँगाे रिसोर्टमा प्रशिक्षण

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूलाई काभ्रे जिल्लाको धुलिखेलमा रहेको एउटा रिसोर्टमा राखेर प्रशिक्षण दिइएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयाेजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा एनजिओ र आइएनजिओमा कार्यरत व्यक्तिहरूले प्रशिक्षण दिएका छन् ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिको समेत सहभागिता रहेको छ । प्रशिक्षण दिनेमा केही राजनीतिक व्यक्तिहरू पनि थिए ।

धुलिखेल रिसोर्टमा बिहीबार र शुक्रबार दुई दिनसम्म प्रशिक्षण भएको एक नेताले बताए । नेपाली कांग्रेसभित्र पनि एनजिओलाई प्रवेश गराएको भन्दै आलोचना भएको छ ।

नेपाली कांग्रेसले एक महिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेर दोस्रो चरणको कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी भइरहेका बेला एनजिओकर्मीहरूले प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूलाई प्रशिक्षण दिएका छन् ।

नेपाली कांग्रेसले एनजिओलाई धेरै महत्व दिँदैन । तर, उपसभाति निधिले एनजिओमा सहभागीहरूमार्फत कार्यक्रम गराएका हुन् ।

रिसोर्टमा गरिएको खर्चका बारेमा केही भनिएको छैन । मदिरासहित भएको प्रशिक्षण कार्यक्रमको खर्चलाई लिएर आलोचना भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा प्रशिक्षणका लागि हलहरू प्रशस्त छन् । तर, पार्टी कार्यालयको हलहरूलाई छाडेर लाखौँ रुपियाँ खर्च गरेर रिसोर्ट दुई दिनसम्म प्रशिक्षण चलाइएको छ ।

मितव्ययिताको कुरा भइरहेका बेला उपसभापति निधिले नै रिसोर्टमा लगेर कार्यक्रम गर्नुलाई धेरैले रहस्यका साथ हेरेका छन् ।

कांग्रेसभित्र उपसभापति निधि आलोचित छन् । सभापति शेरबहादुर देउवा निकट मानिने निधिकै कारण कांग्रेस बेलाबेला ठूलो विवाद र आलोचनामा पर्दै आएको छ ।

निधि गृहमन्त्री रहेका बेला आइजीपी काण्ड मच्चाएका थिए । आइजीपी काण्ड भएपछि नेपाली कांग्रेसलाई निर्वाचनमा ठूलो नोक्सानी भएको थियो ।

त्यसको असर निधि स्वयंलाई पनि परेको थियो । प्रतिनिधि सभा निर्वाचनमा निधि नराम्रोसँग पराजित भएका थिए । बेलाबेला हर्कत गर्दै आउने गरेका निधिले आफूमा सुधारको संकेत देखाएका छैनन् ।

त्यति मात्रै होइन निधिले चार दर्जन नेपाली कांग्रेस निकटका शुभेच्छुकहरूलाई प्रशिक्षण दिन केही दिन अगाडि डेनमार्कमा दुई दर्जन नेपाली कांग्रेसका केन्द्रीय नेताहरूलाई लगेर गएका थिए । निधिले त्यस बेला आफ्ना सहयोगी, सल्लाहकार र पत्नीलाई पनि डेनमार्क लगेर युरोप घुमाएका थिए ।

Published : Friday, 2019 July 19, 1:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया