‘सिंघम’ डिएसपी ढुंगेल बेपत्ता, अख्तियार र हेडक्वाटरमा खैलाबैला

काठमाडौं । निलम्बनमा परेका नेपाल प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमोध ढुंगेल बेपत्ता परेको भन्दै खोजेर उपस्थित गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएको छ ।

अख्तियारको पत्रपछि प्रहरी मुख्यालय नक्सालले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्र पठाइ २४ घण्टाभित्र डिएसपी ढुंगेललाई अख्तियारमा उपस्थित गराउन आदेश दिएको छ । पत्रमा डिएसपी ढुंगेल बेपत्ता भएको उल्लेख छ ।

अख्तियारले ढुंगेलको अकुत सम्पत्तिमाथि छानविन चलाइरहेको छ । बयानका लागि बोलाउन खोज्दा डिएसपी ढुंगेल बेपत्ता भएपछि अख्तियारले हेडक्वाटरमा पत्र पठाएको थियो ।

चैत २६ गते काठमाडौंको रानीबारीमा ललेन्द्र शेरचनको घरमा डकैती भएको थियो । सो डकैती काण्डमा प्रहरीले विक्रम श्रेष्ठलाई पक्राउ गरेको थियो ।

डकैतीमा संलग्न श्रेष्ठ र डिएसपी ढुंगेलविरुद्ध कनेन्सन देखिएपछि प्रहरी मुख्यालयले ढुंगेललाई वैशाख १९ गते निलम्बन गरेको थियो । रौतहटको चन्द्रनिगाहपुर ईलाका प्रहरी कार्यालयको ईञ्चार्ज रहेकै अवस्थामा ढुंगेल निलम्बनमा परेका हुन् ।

यता, अकुत सम्पत्ति छानविनमा अख्तियारले डिएसपी ढुंगेललाई पटक–पटक सम्पर्क गरेर बयानका लागि बोलाउँदा अटेर गरेपछि बेपत्ताको सूचीमा राखेर उपस्थित गराउन प्रहरीलाई पत्र काटिएको हो ।

असार २९ गते आइतबार आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर डिएसपी ढुंगेलसँग केही बुझ्नु पर्ने भएकाले खोजतलास गरेर अख्तियारको कार्यालय टंगालस्थित कोठा नं. ३ मा उपस्थित गराउन भनिएको छ ।

रानीबारी डकैती घटनाका अभियुक्त श्रेष्ठ र डिएसपी ढुंगेलबीच डकैती भएकै दिन महाराजगञ्जस्थित भेनस रेस्टुरेन्टमा भेटघाट भएको बयान श्रेष्ठले दिएपछि ढुंगेल फसेका थिए ।

महाराजगञ्जको भेनस रेस्टुरेन्ट डिएसपी ढुंगेलको हो ।

इन्काउन्टर विशेषज्ञका रुपमा नाम कमाएका डिएसपी ढुंगेलको सम्पत्ति छानविनमा अख्तियारले हात हालेपछि अर्को संकट थपिएको छ ।

Published : Wednesday, 2019 July 17, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया