संसदमा पहिलो पटक देखियो नयाँ दृष्य, कांग्रेसले पयो अर्को दलको साथ

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले सर्लाही जिल्लामा भएको प्रहरी इन्काउन्टर र धर्ना बसेका व्यक्तिको हत्या भएको विषयमा संसदको बैठक अवरुद्ध गेका छन् ।

मंगलबार बसेको संसदको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र राजपा नेपालका सांसद राजकिशोर यादवले शुरूमै समय लिएर बोल्दै कुमार पौडेलको फेक प्रहरी इन्काउन्टरमा हत्या भएको बताए ।

बालुवा, रोडा, ढुंगाका माफियाहरूले खोलामा उत्खनन् गरेर बनाएको पोखरीमा डुबेर बालकको मृत्यु भएपछि धर्ना बसेकाहरूमाथि गोली प्रहार गरेर सरोजनारायण यादवलाई प्रहरीले गोली हानी हत्या गरेको भन्दै सदन अवरुद्ध गरेका हुन् ।

नेपाली कांग्रेस र राजपा नेपालले सर्लाही जिल्लामा भएको फेक प्रहरी इन्काउन्टर र हत्याको विषयमा संसदीय छानविन समिति बनाउन माग गर्दै सदन अबरोध गरेका हुन् ।

गृहमन्त्री रामबहादुर थापाले संसदले दिने निर्णय र निर्देशनलाई सरकारले मान्ने बताएका थिए । त्यसपछि नेपाली कांग्रेस र राजपाका सांसदहरूले मंगलबारकै बैठकबाट संसदीय छानविन समिति बनाउन माग गरे ।

सभामुख कृष्णबहादुर महराले आवश्यक परामर्श गरेर संसदीय छानविन समिति बनाउने भनेपछि नारावाजी गर्दै नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरू ह्वेल घेराउ गर्न पुगेका थिए ।

नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले संसद अबरोध गरिरहेका बेला नेकपाका सांसद खगराज अधिकारीले संसदीय मर्यादा र नियमावली विपरित सदनमा गतिविधि भएको भन्दै आपत्ति जनाएका थिए ।

संसदमा नेपाली कांग्रेस र राजपा नेपालले अबरोध गरेपछि सभामुख महराले पन्ध्र मिनटका लागि सदनको बैठक रोकेका छन् ।

संसदमा नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले सर्लाहीको घटनालाई लिएर आक्रामक रुपमा गृहमन्त्री थापासँग जवाफ माग गरेका थिए । गृहमन्त्री थापाले जवाफ दिए पनि नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूको चित्त बुझेन । चित्त नबुझेपछि सदन अबरोध भएको हो ।

नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले गृहमन्त्री थापाले सदनलाई झुठ बोलेको भनेर आक्रोश समेत व्यक्त गरेका थिए ।

नेपाली कांग्रेसले यसअघि एक्लै सदन अवरोध गर्दै आएको थियो । मंगलबार भने राजपा नेपालले पनि साथ दिएको छ । दुबै विपक्षी दल मिलेर पहिलो पटक यसरी सदन अबरोध गरेका हुन् ।

Published : Tuesday, 2019 July 9, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया