ईश्वर पोखरेलले यज्ञराजकै अगाडि कांग्रेसका रामहरिको प्रशंसा गरेपछि…

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले ओखलढुंगाको विकासका कामहरूमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले धेरै सक्रिय रहने गरेको भन्दै प्रशंसा गरेका छन् ।

छविलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले ओखलढुंगा जिल्लाको विकासका लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताए । पोखरेलले बेलाबेला विकासको कार्यका लागि आफूलाई पनि खतिवडाले झकझकाउने गरेको समेत बताए ।

‘रामहरिजीले ओखलढुंगाको विकासका लागि धेरै गर्नुभएको छ । सक्रिय हुनुहुन्छ’, उनले भने, ‘यज्ञराजी हाम्रो पार्टीको हो । उहाँ हाम्रो पार्टीको भएर राम्रो हुनुभएको हो । विकासका काममा रामहरिले धेरै गर्नुभएको छ ।’

उपप्रधान एवम् रक्षामन्त्री पोखरेलले कांग्रेसका रामहरि खतिवडाको प्रशंसा गर्दा नजिर्क रहेका नेकपाका सांसद यज्ञराज सुनुवार मुस्कुराएर प्रतिक्रिया दिएका थिए ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाका नेता शक्तिशाली सरकारमा उपप्रधानमन्त्री र रक्षामन्त्री रहेको भन्दै ओखलढुंगेली जनताले ठूलो अपेक्षा गरेको बताए ।

‘ईश्वर पोखरेलज्यू सरकारमा वरिष्ठ मन्त्रीका रुपमा हुनुहुन्छ । ओखलढुंगाका जनताले तपाईसँग विकासको ठूलो अपेक्षा राखेका छन्’, उनले भने, ‘विकासको काममा हाम्रो साथ रहन्छ ।’

कांग्रेसका नेता खतिवडाले द्वन्द्वकालमा माओवादीद्वारा हत्या गरिएका तत्कालीन एमालेका नेता छविलालका दोषीलाई कारबाही गर्ने दायित्व सरकारको रहेको बताए ।

‘अहिले दुबै पार्टी मिलेर एउटै पार्टी बनेको छ । छविलालका दोषी पत्ता लगाउने जिम्मेवारी सरकारको हो’, उनले भने, ‘दोषीले उन्मुक्ति पाउनु हुँदैन । निर्दोषलाई जेल हाल्नु हुँदैन ।’

छविलाल स्मृति प्रतिष्ठानको ९औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसका नेता होमनाथ दाहाल, सांसद यज्ञराज सुनुवारसहितका नेताहरूले स्व.छविलालको योगदानका बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा छविलालकी पत्नी शन्कुन्तला राजभण्डारीसहितका नेताहरूले हत्यामा संलग्नहरूलाई कारबाहीको माग गरेका थिए ।

Published : Tuesday, 2019 July 9, 12:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया