नेविसंघले सिंहदरबार छेउमै बाल्याे राँके जुलुस, एघार जना विद्यार्थी नेता पक्राउ (तस्वीर)

काठमाडौं । कम्युनिस्ट सरकारका गलत निर्णय, हर्कत र संविधान विरोधी गतिविधिविरुद्ध नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीले काठमाडौंमा राँके जुलुस निकालेका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार विरोधी नारावाजीसहित विद्यार्थी नेता तथा कार्यकर्ताले राँके जुलुस निकालेका हुन् ।

सोमबार साँझ अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट नजिकै नेविसंघका नेता तथा कार्यकर्ताहरूले भव्य प्रदर्शन गरेका हुन् ।

राँके जुलुसलाई प्रहरीले हस्तक्षेप गरेर नेविसंघका ११ जना विद्यार्थी नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष सागर परियार, आरआर क्याम्पसका ईकाइ सभापति सञ्जीव ढकाल लगायत अन्य ११ जना विद्यार्थी नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको नेपाल तरुण काठमाडौंका सचिव दिनेशबिक्रम शाहले जानकारी दिए ।

सचिव शाहले पक्राउ परेका विद्यार्थी नेताहरूलाई विनासर्त तत्काल रिहाइ गर्न माग गरेका छन् ।

कम्युनिस्ट सरकारले भारतको दवावमा विषादीयुक्त तरकारी र फलफूल चेकजाँच नै नगरेर आयात गर्ने निर्णय गरेपछि आन्दोलित बनेका विद्यार्थी नेताहरूले सिंहदरबार अगाडि राँके जुलुस निकालेका हुन् ।

पक्राउ परेका नेविसंघका नेता तथा कार्यकर्ताहरूलाई रिहाइ गर्न नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि आग्रह गरेका छन् ।

प्रवक्ता शर्माले पक्राउ परेका विद्यार्थी नेता तथा कार्यकर्ता भाईहरूलाई नछाडिए त्यसबाट उत्पन्न हुने पस्थितिको कम्युनिस्ट सरकार जिम्मेवार हुने चेतावनी दिएका छन् ।

Published : Monday, 2019 July 8, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया