सभापति देउवाको घरमा महायज्ञ, नेता कार्यकर्ताको घुइँचो

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा श्रीमद्भागवत् महायज्ञ सप्ताह लगाइएको छ ।

काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा सभापति देउवा र उनकी पत्नी आरजु राणाले महायज्ञ लगाएका हुन् । महायज्ञमा नेपाली कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य, नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ । महायज्ञका लागि पूजा गर्ने ठाउँलाई भव्य रुपमा सजाइएको छ ।

नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नराम्रोसँग पराजय भोगेर आलोचना भइरहेका बेला सभापति देउवाले आफ्नै निवासमा महायज्ञ सप्ताह लगाएका छन् ।

वास्तुशास्त्रमा विशेष रुचि राख्दै आएका सभापति देउवाले आफ्नै घरमा महायज्ञ सप्ताह लगाएर सबैलाई चकित तुल्याइदिएका छन् । महायज्ञ सप्ताह लगाएर सभापति देउवाले आफ्नो ग्रहदशा कटाउने प्रयास गरेको दाबी गरिएको छ ।

निर्वाचनका बेला देउवाले आफू सात पटक प्रधानमन्त्री बन्ने बताएका थिए । सायद सोही भनाइ पूरा गराउनका लागि देउवाले श्रीमद्भागवत महायज्ञ सप्ताह लगाएको चर्चा बुढानिलकण्ठमा हुने गरेको छ ।

नेपाली कांग्रेस पार्टीभित्र नेताहरूले हिन्दूधर्मको पक्षमा वकालत गर्दै आइरहेको बेला सभापति देउवाले आफ्नै घरमा श्रीमद्भागवत महायज्ञ लगाएर आफू हिन्दूधर्मप्रति लचिलो रहेको संकेत गरेका छन् ।

महायज्ञमा थुप्रै ब्रम्हणहरूलाई राखेर पूजा गरिएको नेपाली कांग्रेसका एक जना केन्द्रीय सदस्यले जानकारी दिए ।

Published : Monday, 2019 July 8, 1:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया