देउवाले देखाए ठूलो छाती, असन्तुष्ट समूहको माग सम्बोधन

काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनको प्रक्रिया शुरू गर्न केन्द्रीय समितिमा प्रस्ताव पेश गरेको छ ।

ललितपुरको सानेपामा आइतबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा प्रस्ताव पेश गरेका छन् ।

पार्टीको संघीय विधानअनुसार संरचना तयार गरेपछि महाधिवेशनको प्रक्रिया शुरू गर्न सभापति शेरबहादुर देउवा सकरात्मक देखिएका हुन् ।

खड्काले केन्द्रीय समितिमा छलफलका लागि पेश गरेको प्रस्तावको दुई नम्बर बुँदामा पार्टीको महाधिवेशन प्रक्रिया अघि बढाउने उल्लेख छ ।

‘पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने’, खड्काले पेश गरेको प्रस्तावमा भनिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले महाधिवेशनको प्रक्रिया अघि बढाउने प्रस्ताव राख्नुपर्ने अडान राखेपछि सभापति देउवा सकरात्मक देखिएका हुन् ।

सभापति देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ । देउवाले पार्टी विधानअनुसार एक वर्ष र संविधानअनुसार थप छ महिना कार्यकाल थप गर्न सक्छन् । वरिष्ठ नेता पौडेल र सिटौला महाधिवेशनको पक्षमा छन् ।

दिउँसो २ बजेका लागि बोलाएको बैठक साँझ केहीबेर बसेको थियो । सभापति देउवाले वैशाख २५ देखि एक महिना ७७ जिल्लामा भएको राष्ट्रिय जागरण अभियान सफल गराएको भन्दै केन्द्रीय प्रतिनिधिलाई धन्यवाद दिएका थिए ।

भदौमा शुरू हुने दोस्रो चरणको जागरण अभियान अघि पार्टीको संघीय संरचनाअनुसार संगठन बनाउने तयारीमा कांग्रेस छ ।

नेविसंघ, तरुण दललगायत भातृ संस्थालाई पूर्णता दिने र विभागहरु गठन गर्नेबारे पनि केन्द्रीय समितिमा छलफल हुने कांग्रेसले जनाएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार यी विषयमा छलफल गर्न असार २७ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाइएको छ ।

000

असार २२, २०७६

प्रेस विज्ञप्ति

१४ एजेण्डाका साथ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रारम्भ

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । बैठक शुरु गर्दै सभापतिले “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” मा खटिनु भएका सबै केन्द्रीय प्रतिनिधिहरु, जिल्ला, क्षेत्र एवं स्थानीय तहसम्मको नेतृत्व र साथीहरु, देश–विदेशमा रहनु भएका सम्पूर्ण पार्टी सदस्य एवं शुभचिन्तक साथीहरुलाई बधाइ एवं धन्यवाद ज्ञापन गर्नु भयो ।

सभापतिको निर्देशानुसार महामन्त्री श्री पूर्णबहादुर खड्काले बैठकको एजेण्डा निम्न बमोजिम प्रस्तुत गर्नु भयो ।

१ नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको “नेपाली कांग्रेसको नियमावली, २०७६” समितिका संयोजक केन्द्रीय सदस्य श्री रमेश लेखकद्वारा प्रस्तुत गरिने ।

२ पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा ।

३ विधानको व्यवस्था अनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण सम्वन्धमा ।

४ २०७६ बैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालन भएको पहिलो चरणको “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को एकिकृत प्रतिवेदन प्रस्तुत गरिने ।

५ नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गरिने ।

६ केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरिने ।

७ नेपाली कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिने ।

८ भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने सम्बन्धमा ।

९ पार्टी विधान अनुसार अवधि समाप्त भएका भातृ संघहरुका सम्वन्धमा ।

१० जनसम्पर्क समितिका सम्बन्धमा ।

११ स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने सम्बन्धमा ।

१२ तनहु जिल्लामा अबैध रुपमा गठन भएको नेपाली कांग्रेसको तथाकथित समानान्तर समिति र कार्यालयका सम्वन्धमा ।

१३ देशको समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भ ।

१४ बिविध

एजेण्डाको प्रस्तुति प्रश्चात नियमावली संशोधन मस्यौदा समितिका संयोजक श्री रमेश लेखकले “नेपाली कांग्रेसको नियमावली, २०७६” प्रस्तुत गर्नु भयो । नियमावलीको मस्यौदा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई वितरण गरी आजको बैठक समापन भएको छ । नियमावलीको अध्ययन पश्चात २०७६ असार २७ गते अपरान्ह १:०० बजे बैठक पुनः बस्नेछ ।

कृष्णप्रसाद पौडेल

मुख्य सचिव

Published : Sunday, 2019 July 7, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया