बालकृष्ण खाँणले जनताको कुरा बोल्दा कम्युनिस्टहरूलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदमा सांसदहरूले उठाएका विषयलाई सरकारले बेवास्ता गरेको बताएका छन् ।

आइतबार संसदको बैठकमा शुरूमा समय लिएर बोल्दै खाँणले सरकारलाई समसामयिक विषयमा सांसदहरूले उठाएका विषयमा सभामुखले रुलिङ गर्दा समेत सरकारले बेवास्ता गरेको बताए ।

‘संसदमा जनप्रतिनिधि साथीहरूले बोलिरहनु भएको छ । ती बोलेका कुराहरूलाई कार्यकापालिकाले जुन सक्रियताका साथ लिनुपर्ने हो, लिएको पाइएन’, उनले भनेका छन्, ‘कार्यपालिकालाई आग्रह गर्न चाहन्छु । व्यवस्थापिका संसदमा सांसदहरूले बोलेका कुराहरूलाई सरकारले गम्भीरतापूर्वक लेओस् भन्नेमा जोड दिन चाहन्छु ।’

उनले भनेका छन्, ‘प्रतिनिधि सभाका सभामुखले कतिपय विषयलाई रुलिङ गर्नुभएको छ । कतिपय विषय सभामुखले सरकारको ध्यानाकर्षण गर्नुभएको छ । सभामुखले रुलिङ गरेको विषयलाई पनि सरकारले गम्भीरतापूर्वक लिएको छैन । सरकारले सदन र सभामुखको अपहेलना गरिरहेको छ । सरकार कानूनी रुपमा अगाडि बढोस् ।’

‘सरकार विधिको आधारमा बनेको हुन्छ । विधिको आधारमा चल्दछ । सरकारको दायित्व संविधानको रक्षा गर्ने पनि हो’, नेपाली कांग्रेसका प्रमुख सचेतक, ‘विधिको रक्षा गर्ने पनि हो । आम नागरिकको रक्षा गर्ने पनि हो । तर, हालैका केही घटनाहरू ज्यादै गम्भीर देखिएका छन् ।’

‘सर्लाही जिल्लामा कुमार पौडेलको प्रहरीले गोली हानेर हत्या भएको छ । प्रहरीका रिपोर्टमा मुठभेड भयो भनेर फर्जी मुडभेड देखाइएको छ । कुमार पौडेलको शव हेर्दा खेरी जसरी छापा र मिडियामा आइरहेको छ उहाँलाई पहिला गरिफ्तार गरेर उहाँको शरीरलाई अंगभङग गराएर हातहरू भाँचेर असक्त बनाएर उहाँलाई गोली प्रहार गरिएको छ’, कांग्रेसका प्रमुख सचेतक खाँणले भनेका छन्, ‘यो मानवअधिकार विरोधी हो । नागरिक अधिकार विरोधी हो । विधि र शासनको राज्यले खिल्ली उडाएको हो ।’

‘यदि कसैले विधि र शासन विपरितको कार्य गरेको छ भने सरकारले कानूनी कारबाही गर्ने अधिकार छ’, उनले भनेका छन्, ‘उसलाई गिरफ्तार गर्ने, अनुसन्धान गर्ने, न्यायपालिकामा बुझाउने, न्यायिक प्रक्रियाबाट उ दोषी ठहरिने, दोषको जिम्मेवारी उसले बहन गर्ने, यो बैधानिक प्रक्रिया हो ।’

उनले भनेका छन्, ‘बैधानिक प्रक्रिया मिचेर मुठभेडको नाममा, मुठभेड नभइकन, मान्छेलाई गिरफ्तार गर्ने, अनि घोप्ट्याएर टाउकोमा गोली हान्ने त्योभन्दा अगाडि घाइते बनाएर अंगभङग बनाउने । यो बिल्कुलै मानवअधिकार विरोधी र निन्दनीय कार्य हो ।’

‘सर्लाही जिल्लामा अर्को घटना भएको छ । ईश्वरपुर नगरपालिका बाँके खोलामा, त्यहाँ गैरकानूनी रुपमा गिट्टी बालुवा माटो ढुंगा, उत्खनन् भएको छ’, उनले भनेका छन्, ‘जनताले बारम्बार ध्यानाकर्षण गराएका छन् । त्यहाँको नगरपालिका र स्थानीय प्रशासनलाई । तर, स्थानीय प्रशासन र नगपालिकाकै मिलोमतोमै ढुंगाका कारोबारीहरूले ठूल्ठूला खाल्डाहरू बनाएर वातावरणीय सन्तुलन बिगारिएको छ । त्यो भू–भागलाई कुरुप पनि बनाएको छ ।’

‘कुनै खालको परीक्षण नगरिकनै त्यहाँबाट ठूलो मात्रामा गिट्टी, ढुंगा र बालुवा उत्खनन् गरेर बाहिर लगिएको छ । अमित यादव भन्ने १२ वर्षको बच्चा साथीहरूसँग जाँदा खेरी डुबेर मृत्यु भयो’, उनले भनेका छन्, ‘डुबेर मृत्यु भइसकेपछि स्थानीयहरू स्तब्ध भए । उनीहरूले बाँके चोकमा गएर राजमार्गमा बसेर स्थानीय प्रशासनको ध्यानाकर्षण गरे ।’

‘न्यायकै लागि राज्यसँग अपील गरिरहेका थिए । शान्तिपूर्ण धर्नाकारीलाई गोली प्रहार गरेर सरोजकुमार सिंहलाई तोकेर टाउकोमा गोली ठोकिएको छ । यो सामान्य विषय होइन’, नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले भनेका छन्, ‘हत्याको विरोध गर्दछु । ताकेर जनताको टाउकोमा गोली हानेर हत्या गर्छ भने मान्य छैन । यस्तो घटना दोहो-याउँछ भने संविधानको संरक्षण गराउन सक्दैन । गृहमन्त्रीले अविलम्ब जवाफ दिनुपर्छ । जिम्मेवारी लिनुपर्दछ । सरकरले जनताको जीवनको रक्षा गर्नुपर्छ ।’

उनले भनेका छन्, ‘सरकारले स्वास्थ्यको पनि चिन्ता लिनुपर्छ । खाद्यसम्बन्धी व्यवस्था संविधानले रक्षा गरेको छ । नेपालमा आयात गरिने फलफूल र तरकारी प्रतिवन्ध लगायो । सरकारको निर्णयलाई स्वागत गरियो ।’

‘जनताको स्वास्थ्यमाथि खेलावड गरको छ । सरकारले शक्तिका सामू लम्पसार बनेको छ । घुँडा टेकेको छ । अखाद्य पदार्थहरू किन बजारमा ल्याउन दिइएको छ सदनलाई जानकारी दिनुपर्छ’, खाँणले भनेका छन्, ‘विषक्त पदार्थ जनताको घरघरमा सहजतापूर्वक नेपाली जनताको चुल्होमा किन पु-याउँदै छ । जनतालाई जानकारी चाहिन्छ । किन सरकारले घुँडा टेक्यो ? संविधान विपरित र प्रतिकुलमा बनेको विधेयकहरू फिर्ता लिनुपर्छ ।’

Published : Sunday, 2019 July 7, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया