ओलीका सल्लाहकारका कारण हँगामा, बालुवाटारभित्रै खैलाबैला

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘छौंडाहरू’ भनेर ट्वीट गरेपछि सामाजिक सञ्जालमा हँगामा भएको छ ।

आइतबार बिहान ०६:४० बजे ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले ‘छौँडाहरू’ भनेर ट्वीट गरेका थिए । उनको यो शब्दप्रति कमेन्ट गर्नेहरूले तल्लो शब्दावली भनेर आलोचना गरेका छन् । रिमालकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका नेता तथा पत्रकारहरूले समते ‘छौँडाहरू’ शब्द र ट्वीटको विरोध गरेका छन् ।

‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन् ! यी छौंडाहरू । आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’, भनेर प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार ट्वीट गरेका छन् ।

ओली सरकारलाई चौतर्फी आक्रमण भइरहेका बेला सल्लाहकार रिमालले बचाउ गर्दै बेलाबेला उट्पट्याङ ट्वीट गर्ने गरेका छन् ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहाकार जस्तो व्यक्तिले आफ्नो पदीय मर्यादाको ख्याल नै नगरेर तल्लोस्तरको शब्दावली प्रयोग गरेर सार्वजनिक अभिव्यक्त गर्दा वा सामाजिक सञ्जालमा दिँदा उचित नहुने भनेर विरोध भएको छ ।

नेपालका विभिन्न भाषाभाषीमा ‘छौँडा’को अर्थ शब्दकोषको पहिलो र दोस्रो अर्थका रूपमा पनि प्रयोग हुन्छ । तर नेपाली भाषी समाजमा भने शब्दकोषमा उल्लेख भएको चारौँ नम्बरको अर्थमा बुझिन्छ ।

पहिलो दोस्रो तेस्रो अर्थ प्रतीक वा बिम्बका रूपमा बुझिन्छ । जस्तै केटाकेटीले धेरै चकचक गरे भने भनिन्छ, ‘यी छौँडा कति चलेका ।’

रिमालको ट्वीट हेर्ने हो भने शब्दकोषको पहिलो, दोस्रो र तेस्रो अर्थसँग मेल खाँदैनन् ।

नेपाली भाषीको (लोक) विश्वासअनुसार छौँडा बोक्सीले कसैलाई दुःख दिन पठाउँछन्, कार्यकर्ताका रूपमा । सामान्यतया छौँडाहरू आफैँ चल्मलाउँदैन् । बोक्सीद्वारा परिचालित हुन्छन् ।

अहिलेको आधुनिक समाजले बोक्सी हुन्छन् भन्ने कुरा मान्दैन । यो अन्धविश्वास हो । कसैलाई बोक्सी भने कानूनी कारबाही हुने व्यवस्था छ ।

बोक्सी नै हुँदैन भन्ने भएपछि छौँडा हुने कुरै भएन । सभ्य समाजमा विरोधी नै भएपनि कसैलाई ‘छौँडा’ भन्नु राम्रो मानिँदैन ।

अझ धर्ममा विश्वास नगर्ने र अन्धविश्वासका तीव्र विरोध गर्ने कम्युनिष्ट दर्शनको दीक्षा लिएका प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले एकाबिहानै ट्वीटमा किन यस्तो शब्द प्रयोग गरे होलान् ? धेरैको मनमा जिज्ञासा उठेको छ ।

Published : Sunday, 2019 July 7, 9:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया