फन्दामा परे प्रचण्डका शक्तिशाली घरबेटी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको कन्ट्रक्सन कम्पनीलाई कारबाहीको तयारी भएको छ ।

राजनीतिक शक्तिको आडमा भक्तपुर जिल्लाको नगरकोट जाने सडक ठेक्का लिएर अलपत्र पारेपछि शारदाप्रसाद अधिकारीको शैलुङ कन्सट्रक्सन कम्पनीलाई सडक विभाग अन्तर्गतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले जरिवाना तिराउन लागेको हो ।

अधिकारीले कमलविनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने सडक अलपत्र छ । उनले यस्ता सडकहरू दर्जनौ स्थानमा लिएर राजनीतिक शक्तिको आडमा काम अलपत्र पारेर जनतालाई दुःख दिँदै आएका छन् ।

सडक निर्माणमा ढिलासुस्ती र लापरवाही भएकाले शैलुङलाई ठेक्का रकमको १० प्रतिशत अर्थात झण्डै ३ करोड रुपियाँ जरिवाना गर्न लागेको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिएका छन् ।

०७१ को जेठबाट निर्माण शुरू भएको १६ किलोमिटर सडकको काम सम्झौताअनुसार ०७३ को जेठसम्म बन्नु पर्ने थियो ।

अहिलेसम्म आयोजनामा ५४ प्रतिशत मात्रै वित्तीय प्रगति भएको प्रजापतिले बताएका छन् ।

कम्पनीले भने ६५ प्रतिशत भन्दा बढी भौतिक प्रगति भइसकेको दाबी गरेको छ ।

आयोजनामा हालसम्म ४ पटक म्याद थप भएको छ । शैलुङले आगामी जेठसम्ममा सडक निर्माणको लागि पछिल्लो पटक म्याद पाएको छ ।

आयोजनाका अधिकारीहरूले अहिलेकै गतिमा काम भए थपिएको समयमा पनि सडक पूरा नहुने बताएका छन् ।

कम्पनीले भने आगामी कार्तिकसम्म सबै काम सकेर सडकलाई नयाँ स्वरुप दिइसक्ने दाबी गरेको छ ।

भारतीय एक्जिम बैंकको ३० करोड लगानी रहेको सडकको काम राम्रोसँग नभएपछि सडकले यसअघि ७ लाख हर्जना पनि तिराएको थियो ।

शुरूमा २७ करोडमा ठेक्का सकारेको शैलुङले पछि आयोजना ढिलाई गर्दै भेरियसन गरेर ३० करोड पुर्‍याएको थियो ।

शैलुङ कन्ट्रक्सनका मालिक अधिकारीले प्रचण्डलाई ललितपुरको खुमलटारमा घर बस्न दिएका छन् । अधिकारीले नै एकजना सहयोग पनि राखेर प्रचण्डको परिवारलाई आवश्यक पर्ने दैनिक सामाग्रीहरू दिँदै आएका छन् ।

‘क’ वर्गको कम्पनी भएपनि शैलुङले ‘लो बिड’ गरेर ठेक्का हात पार्ने र मोबिलाइजेसन हात पारेपछि आयोजनाहरू वर्षौ अलपत्र पार्ने गरेको छ । कलंगी–नागढुंगा सडक पनि प्रचण्डकै घरबेटी अधिकारीले ठेक्का लिएर समयमा काम पूरा गरेका छैनन् ।

Published : Saturday, 2019 July 6, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया