सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउँदैछः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले लोकतन्त्र विरोधी काम गर्दै गए आन्दोलन गर्नुपर्ने बेला आउन सक्ने चेतावनी दिएका छन् ।

बलबहादुर राईको नवौं स्मृति दिवसका अवसरमा शनिबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले जनताको प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्दै गएको बताए ।

उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोजे आन्दोलन गर्ने छौँ ।’

देउवाले प्रेस काउन्सिल, मानवअधिकार आयोग लगायतका क्षेत्रमाथि सरकारले अंकुश लगाउन खाजेको बताए । उनले लोकतन्त्र विरोधी विधेयक सरकारले फिर्ता लिनुपर्ने माग पनि गरेका छन् ।

नेपाली कांग्रेस अभिव्यक्ति स्वतन्त्रताका लागि २००७ सालदेखि लड्दै आएको पार्टी भएको देउवाले बताए । उनले वाक स्वतन्त्रतामाथि हस्तक्षेप गर्दा विगतमा कांग्रेसले राणा, राजा र पञ्चायत हटाएको स्मरण गराएका छन् ।

उनले जनताका अधिकार, न्यायालय, प्रेस, मानब अधिकार आयोगमाथि हस्तक्षेप नगर्न आग्रह पनि सरकार र त्यसको नेतृत्वलाई चेतावनीपूर्ण सुझाव दिएका छन् ।

नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजाल लगायतका नेताहरूले बलबहादुर राईको योगदानको चर्चा गरेका थिए ।

ओखलढुंगाका पुराना कांग्रेस नेता जीवनको ८ दशक पार गर्दा पनि उहि जोस र उर्जाका साथ दोस्रो जनआन्दोलनमा कीर्तिपुरको मोर्चा सम्हालेका थिए ।

बलबहादुर राई ०१५ सालको आम निर्वाचनमा पनि ओखलढुंगाबाट सांसदमा निर्वाचित भएका थिए ।

Published : Saturday, 2019 July 6, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया