कांग्रेसले कम्युनिस्ट सरकारको राष्ट्रवादी चरित्र खुइल्याइदियो

काठमाडौं । नेपाली कांग्रेसले भारतबात नेपाल भित्रिने विषादीयुक्त तरकारी र फलफूल प्रवेशमा तत्कालै कडा परीक्षण तथा नियन्त्रण गर्न कम्युनिस्ट सरकारलाई सचेत गराएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरेर निर्वाचनको बेला महानराष्ट्रवादी चरित्र देखाएका खड्गप्रसाद ओली र उनको सरकारको राष्ट्रवाद स्खलित हुँदै गएको जनाएका छन् ।

‘नागरिक जीवनमाथि खेलवाड गर्ने गैह्र जिम्मेवार सरकारको भर्त्सना गर्दै नेपाली कांग्रेस विषादीयुक्त तरकारी–फलफूल प्रवेशमा तत्कालै कडा परीक्षण र नियन्त्रणको मार्गमा उभिन सरकारलाई सचेत गराउँदछ’, विज्ञप्तिमा भनिएको छ ।

‘विषादीयुक्त खाद्य पदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई विर्षिएर सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारी हो’, नेपाली कांग्रेसका प्रवक्ता शर्माले विज्ञप्तिमार्फत प्रश्न गर्दै भनेका छन्, ‘निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा कुन हद दर्जाको नालायकीपनका साथ विसर्जित हुँदैछ ?’

‘नागरिक जीवनप्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने तर नागरिकको स्वास्थ र समग्र जीवनप्रति गम्भीर खेलवाड गर्न किञ्चित नहिच्किने वर्तमान सरकारको जनविरोधी प्रवृत्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल–भारत सिमाको भन्सार विन्दुमा तरकारी फलफुल लगायतमा विषादीको अवशेष अनिवार्य परिक्षण गर्ने नीति सरकार स्वयंले सूचना प्रकाशित गरेर सार्वजनिक गरेको थियो’, शर्माले भनेका छन्, ‘तर अहिले आएर सरकारले एकाएक कुनै परीक्षण वेगर भित्रिन दिने आदेश दिएको समाचार अत्यन्त गम्भीर छ ।’

नेपाली कांग्रेसका प्रवक्ता शर्माले भनेका छन्, ‘नेपाली कांग्रेस यसबारेमा पारदर्शी र आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग गर्दछ ।’

‘काठमाडौं सहरको प्रदुषणको प्राविधिक मापनको ज्ञान वेगर एकातर्फ मास्क नलगाई हिड्न अपील गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परीक्षण वेगर अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गर्नु अत्यन्त दुःखद् छ’, नेपाली कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ ।

कम्युनिस्ट सरकारले भारतसहितका देशबाट आयात हुने तरकारी र फलफूलको क्वारेन्टाइन अर्थात विषादीयुक्त छ वा छैन भनेर चेकजाँच गर्ने निर्णयलाई राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा ल्याएको थियो ।

तर, भारतले आपत्ति जनाएपछि कम्युनिस्ट सरकारको बिहीबारको बैठकले भारतबाट विषदीयुक्त तरकारी र फलफूल जाँच नै नगरी नेपाल भित्रिन दिने निर्णय गरेको थियो । यो निर्णयको नेपाली कांग्रेससहित सर्वसाधारणहरूले विरोध गरेका छन् ।

000

असार २१, २०७६

विषादी परिक्षणमा के विर्सजित भएको हो, सरकारको राष्ट्रवादी चरित्र ?

१. नागरिक जीवनका प्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने तर नागरिकको स्वास्थ र समग्र जीवनप्रति गम्भीर खेलवाड गर्न किञ्चित नहिच्किने वर्तमान सरकारको जनविरोधी प्रवृत्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।

२. नेपाल–भारत सिमाको भन्सार विन्दुमा तरकारी फलफुल लगायतमा विषादीको अवशेष अनिवार्य परिक्षण गर्ने नीति सरकार स्वयंले सूचना प्रकाशित गरेर सार्वजनिक गरेको थियो । तर अहिले आएर सरकारले एकाएक कुनै परिक्षण वेगर भित्रिन दिने आदेश दिएको समाचार अत्यन्त गम्भीर छ । नेपाली कांग्रेस यसबारेमा पारदर्शी र आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग गर्दछ ।

३. काठमाडाैं सहरको प्रदुषणको प्राविधिक मापनको ज्ञान वेगर एकातर्फ मास्क नलगाई हिड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परिक्षण वेगर अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गर्नु अत्यन्त दुःखद छ ।

४. विषादीयुक्त खाद्य पदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई विर्षिएर सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारी हो । निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्सजित हुँदैछ ?

५. नागरिक जीवन माथि खेलवाड गर्ने गैह्र जिम्मेवार सरकारको भत्र्सना गर्दै नेपाली कांग्रेस विषादीयुक्त तरकारी–फलफुल प्रवेशमा तत्कालै कडा परिक्षण र नियन्त्रणको मार्गमा उभिन सरकारलाई सचेत गराउँदछ ।

जय नेपाल

विश्वप्रकाश शर्मा
प्रवक्ता

Published : Saturday, 2019 July 6, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया