कांग्रेस प्रवेश गर्नेहरूमध्ये नेकपाबाट मात्रै दुई तिहाई

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको अधिनायकवाद उन्मुख गतिविधिहरूले कम्युनिस्ट सरकारप्रति बढाएको तीव्र असन्तुष्टि जागरण अभियानका क्रममा देशव्यापी रुपमा प्रकट भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहीबार पार्टी मुख्यालय ललितपुर सानेपामा आयोजित पत्रकार सम्मेलनमा कम्युनिस्ट सरकारप्रति बढ्दै गएको असन्तुष्टिका क्रममा सत्तारुढ नेकपाका हजारौँ नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको जानकारी दिइएको छ ।

फेरि पनि नेपाली कांग्रेसले आफूलाई नवीन ढंगले अघि बढाएर संविधान, संघीयता र सिंगो लोकतन्त्रको रक्षा एवं सम्वर्द्धनको भूमिका निर्वाह गर्नुपर्ने आम अपेक्षा देखिएको प्रवक्ता शर्माले बताए ।

सोही आशा र विश्वासको भावनाका साथ नेपाली कांग्रेसमा समाहित हुन चाहने आकांक्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको शर्माले बताए ।

‘अभियान क्रममा सत्तारुढ पार्टी एवं अन्य पार्टीहरूबाट नेपाली कांग्रेसमा देशभरिका कार्यक्रम मार्फत ३१ हजार ६ सय ४२ जना प्रवेश गरेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘प्रवेश गर्नु हुनेमा साधारण सदस्यतादेखि जिल्ला र गाउँ नगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहनु भएका व्यक्तित्वहरू समेत हुनुहुन्छ । उहाँहरूलाई पार्टीले आवश्यक प्रशिक्षण पश्चात उपयुक्त जिम्मेवारी प्रदान गर्नेछ ।’

नेपाली कांग्रेसका प्रवक्ता शर्माले एक महिने राष्ट्रिय जागरण अभियानमा कांग्रेसप्रति व्यापक आकर्षण बढेको बताए ।

‘कांग्रेसको जागरण अभियानका क्रममा नेपाली कांग्रेसमा सत्तारुढ नेकपाका दुई तिहाइ स्थानीय नेता र कार्यकर्ताहरू पार्टी छाडेर पार्टी प्रवेश गरेका छन्’, उनले भने, ‘विभिन्न पार्टीहरूबाट नेपाली कांग्रेसमा प्रवेश गरिएको छ । उहाँहरूलाई उचित स्थान दिइनेछ ।’

कम्युनिस्टहरूको झुठको आश्वासनबाट आजित भएका नेकपाका स्थानीय नेताहरू नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको यसअघि पनि जानकारी दिइएको थियो ।

Published : Thursday, 2019 June 13, 4:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया