चालीस करोडमा प्रधानमन्त्री बस्ने घर बनाइने

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले चालीस करोड खर्च गरेर प्रधानमन्त्री क्वाटर बनाउने भएको छ ।

बालुवाटारभित्रै प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्नेछ । अहिले रहेको संरचना भत्काइनेछ ।

एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ । अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछ ।

निजी भवन प्रधानमन्त्रीको व्यक्तिगत प्रयोजनका लागि हुनेछ । पब्लिक भवन राजनीतिक–कूटनीतिक संवाद तथा सर्वसाधारणसँग भेटघाटमा प्रयोग गरिनेछ ।

भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १४ युनिट हुनेछन् । ४० जना बसेर खान मिल्ने डाइनिङ हल र एउटा भान्सा निर्माण गरिनेछ ।

सुरक्षाकर्मीका लागि कन्ट्रोल रुम, गोप्य लाउन्ज, हाउस किपिङ, वेटिङ एरिया, एडिसी कार्यालय र प्रधानमन्त्रीको कार्यकक्ष यही तलामा हुनेछ ।

पहिलो तलामा विशेषगरी सार्वसाधारणसँग भेटघाटका लागि प्रयोग गरिनेछ । सोही तलामा भोजभतेरका लागि ब्याङक्वेट हल हुनेछ ।

प्रधानमन्त्रीको निजी निवासमा अति विशिष्ट पाहुनाका लागि पनि कोठा बनाइनेछ । यो भवन साढे दुई तलाको हुनेछ ।

Published : Wednesday, 2019 June 12, 11:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया