सांस्कृतिक संघको भेलाको उद्घाटन देउवाले गर्ने

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संघ नेपाल सांस्कृतिक संघले यही जेठ ३१ र ३२ गते हेटौंडामा नेपाल सांस्कृतिक संघ जिल्ला सभापति (७७ वटै जिल्लाका) र विद्यागत संघका सभापतिहरूको राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्ने भएको छ ।

भेलाको उद्घाट्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने संघका सभापति तीर्थबहादुर थापाले जानकारी दिएका छन् ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर संघका सभापति थापाले यस्तो जानकारी गराएका हुन् ।

संघले आफूहरूले स्रष्टा, संस्कृतिकर्मीहरूको सुरक्षा, सम्मान र पहिचानका लागि जोडदार आवाज उठाउँदै आइरहेको पनि जनाएको छ ।

हेटौंडा मकवानपुरमा सञ्चालित उक्त कार्यक्रममा ७७ वटै जिल्ला सांस्कृतिक संघका सभापति र विद्यागत संघका सभापतिहरूको राष्ट्रिय प्रशिक्षण भेलामार्फत देशव्यापी रुपमा सम्पूर्ण स्रष्टा, संस्कृतिकर्मीहरूको सुरक्षा, सम्मान र पहिचानका लागि ऐक्यबद्धता जाहेर गर्ने पनि संघको घोषणा छ ।

संघका सभापति थापाले राष्ट्रिय प्रशिक्षणमा भेलाका माध्यमबाट गाउँ नगर, क्षेत्र, जिल्ला, केन्द्र र प्रदेशस्तरीय सांगठनिक संरचनालाई अझ गतिशील र रचनात्मक बनाउन संघ लागिरहेको बताए । उनले कलाकार तथा स्रष्टाहरूको हकहित पहिचानको लागि पनि उक्त कार्यक्रम फलदायी हुने बताएका छन् ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संस्कृतिको उत्थानबिना राष्ट्रको विकास र समृद्धि सम्भव छैन । स्रष्टा संस्कृतिकर्मीहरूलाई उपेक्षा र अवमूल्यन गरेर अघि बढ्न सकिन्न ।

राष्ट्रको गरिमा र पहिचान भनेकै सांस्कृतिक क्षेत्र हो । यो कुरा जननायक वीपी कोइरालाले आफ्नो संघर्षशील राजनीतिक जीवनको पहिलो उषाकालमै महसुस गरेर सांस्कृतिक क्षेत्रको उन्नयन र प्रर्वद्धन गरेको नेपाल सांस्कृतिक परिषद्को गठन कार्य गरेबाट स्पष्ट हुन्छ । सोही क्रममा वीपीले वि.सं. २००८ मा स्थापना र प्रर्वद्धन गरेको नेपाल सांस्कृतिक परिषदले तत्कालीन राणा शासनको निरंकुशताको कोपाभाजन हुनुपरेको घट्नाक्रमहरुको इतिहास साक्षी छ ।’

संघका महामन्त्री दुर्गाबहादुर रायमाझीले पनि राष्ट्रिय प्रशिक्षण भेला फलदायी हुने बताए ।

पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष जनार्दन आचार्य, महामन्त्रीद्वय रोशनी केसी र शिवशंकर रिजालले नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान संघको भेलाले सहयोग मिल्ने बताए ।

Published : Tuesday, 2019 June 11, 5:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया