कम्युनिस्ट सरकारले धर्म, संस्कृतिमाथि प्रहार गर्‍योः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले नेपालको संविधानले सनातनदेखि चल्दै आएको धर्म, संस्कृतिको संरक्षणप्रति प्रतिवद्धता जनाएको भन्दै कम्युनिस्ट सरकारद्वारा गुठीहरूमाथि प्रहार गरेको भन्दै आक्रोश जनाएको छ ।

नेपाली कांग्रेसले सोमबार विज्ञप्ति जारी गरेर परम्परादेखि धर्म, संस्कृति, संरक्षण, सम्वर्द्धनका लागि गुठीको माध्यमबाट महत्वपूर्ण कार्यहरू हुँदै आएको भन्दै गुठी खारेज गर्ने कम्युनिस्ट सरकारको तयारीको विरोध गरेको छ ।

‘हालै सरकारले ल्याएको गुठी सम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल धर्म, संस्कृति र परम्परा माथि प्रहार गरेको छ’, नेपाली कांग्रेसले भनेको छ ।

‘स्थापित गुठी र गुठीको स्वामित्वलाई समाप्त गर्न सरकारले ल्याएको विधेयकको विरुद्धमा शान्तिपूर्ण रुपमा भेला भई विरोध प्रदर्शन गरेका विभिन्न गुठीका गुठीयार र आम नागरिकमाथि सरकारले वर्वरतापूर्वक आक्रमण, धरपकड गर्ने र अन्धाधुन्ध बल प्रयोगका साथै पानीको फोहरा समेत प्रहार गरी दर्जनौँ प्रदर्शनकारीलाई घाइते बनाएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ र यस घटनाको घोर भत्र्सना र विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘यस घटनाले शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि ठाडो हस्तक्षेप गरेको छ’, नेपाली कांग्रेसले भनेको छ, ‘संविधानको प्रतिकूल, धर्म, संस्कृति र परम्पराको विनास गर्ने र गुठीको अस्तित्वलाई नै समाप्त पार्ने गरी ल्याइएको विधेयकप्रति नेपाली कांग्रेसको घोर आपत्ति रहेको छ र यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन ।’

‘तसर्थ, सरोकारवालाहरूको माग र जनताको चाहना विपरीत आएको विधेयक तुरुन्त फिर्ता गरी सरोकारवालाहरूसँग सार्थक संवाद मार्फत् सहमतिका आधारमा तत्काल समाधान खोज्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ’, नेपाली कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ ।

गुठीलाई खारेज गर्ने गरेर विधेयक पारित गर्ने तयारीमा कम्युनिस्ट सरकार रहेपछि आइतबार सरोकारवालाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा कम्युनिस्ट सरकारले बल प्रयोग गरेको थियो ।

Published : Monday, 2019 June 10, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया