ओली विदेशमा रहेका बेला देउवाले यता कम्युनिस्टहरूको धड्कन बढाइदिए

गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको भन्दै कम्युनिस्ट सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।

गोरखामा आइतबार नेपाली कांग्रेसको दोस्रो नगर सम्मेलनको उदघाटन कार्यक्रममा देउवाले सरकारलाई मिडिया काउन्सिललगायतका विधेयक पास गर्न नदिन सदन अवरुद्ध गर्ने बताए । देउवाले संसदमा जबर्जस्ती गरे सडकमा आन्दोलन गर्ने चेतावनी दिए ।

उनले संसदबाट मिडिया काउन्सिल विधेयक कुनै हालतमा पास हुन नदिने बताए ।

सभापति देउवाले मानव अधिकार ऐन संशोधन गर्न बनेको विधेयक र गुठीको जग्गा व्यवस्थापन सम्बन्धी विधेयक पनि पास हुन नदिने समेत बताए । देउवाले वर्तमान सरकारले सारा कुरा बर्बाद गरेको आरोप लगाए ।

‘खड्गप्रसाद ओलीको सरकार आएपछि सारा कुरा बर्बाद भएको छ’, नेपाली कांग्रेसका सभापति देउवाले भने, ‘हुँदा हुँदा सेना पनि आफ्नो मातहत राख्न खोजिएको छ ।’

नेपाली सेनालाई प्रधानमन्त्री मातहत नभइ राष्ट्रिय सुरक्षा परिषद् अन्तर्गत राखिनुपर्ने उनले बताए ।

देउवाले गोरखा दरवारको पुननिर्माणमा भैरहेको ढिलाइप्रति पनि असन्तुष्टि जनाएका छन् ।

नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुढीगण्डकी आयोजना नेपाली लगानीमै बनाउनुपर्ने बताए ।

शर्माले सरकारको क्रियाकलाप हेर्दा अधिनायकवादतर्फ उन्मुख भएको प्रष्ट हुने बताए ।

‘हामीले कालो पञ्चायतलाई त सहेनौं, अब रातो अधिनायकवाद ल्याउने दुस्साहस नगर्नुहोला’, शर्माले भने, ‘देशमा निर्वाचन नगराई सत्ता कब्जा गर्ने हिम्मत छ ? देशलाई उत्तर कोरिया बनाउने हिम्मत छ ?’

प्रधानमन्त्री ओली देशमा नरहेका बेला नेपाली कांग्रेसका सभापति देउवाले सडक तताउने चेतावनी दिएपछि कम्युनिस्ट सरकारलाई धकड्कन बढेको छ ।

Published : Sunday, 2019 June 9, 6:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया