सहकारी ठगका आरोपी गृहमन्त्रीबारे सरकारको प्रस्तुतिअनुसार कांग्रेसले डील गर्दै जाने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद खुलाउने बल सरकारको कोटमा रहेको बताएका छन् ।

आइतबार संसद सचिवालय सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै लेखकले संसदलाई अगाडि बढाउने जिम्मा सरकारकै रहेको बताए । उनले सरकारको प्रस्तुतिअनुसार कांग्रेसले डील गर्दै जाने बताएका छन् ।

लेखकले भने, ‘सरकारले प्रमुख प्रतिपक्षी दललाई न्याय गरेको हामीले पाइरहेका छैनौं । संसदलाई प्रभावकारी बनाउने जिम्मा सरकारको हो ।’

‘संसद कसरी अगाडि बढाउने बल पनि सरकारको कोटमा छ’, उनले भने, ‘सरकारले बल कसरी बढाउँछ कांग्रेसले त्यहीअनुसारको डील गर्छ ।’

संसदले गर्ने काम नै जनताका जल्दाबल्दा कुरामा बहस गराउने रहेको प्रमुख सचेतक लेखकले बताएका छन् ।

‘सहकारीमा अर्बौं रकम अपचलन भएको छ । उनीहरूको बचतको सुरक्षा ग्यारेन्टी गर्ने, समस्याको निकास दिने थलो संसद पनि हो’, उनले भने ।

‘हामीले संसदबाट यसले निकास पाउनुपर्छ भनेका हौं’, कांग्रेसका नेता लेखकले भनेका छन् । जनताका जल्दाबल्दा विषयमा संसदमा बहस हुन जरुरी रहेको उनको भनाइ छ ।

सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे छानविन गर्न संसदीय समिति बनाउन माग गरेर प्रतिनिधिसभाको बैठक अबरुद्ध गरिरहेको छ । कांग्रेसले लामिछानेबारे छानविन गर्न समिति बनाउनुपर्ने अडान राखे पनि एमाले–माओवादीसहितको गठबन्धन सरकार समिति बनाउन अनिइच्छुक छ ।

Published : Sunday, 2024 May 12, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया