प्रचण्ड र सहकारी ठगमा मुछिएका गृहमन्त्रीबीच मनमुटाव, जीबीलाई भगाएको अस्वीकार

भरतपुर । सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको आरोपलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेका छन् ।

भरतपुर विमानस्थलमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै दाहालले जीबी राईलाई अघिल्लो सरकार र प्रधानमन्त्रीले भगायो भन्नु बेतुकका तर्क रहेको बताए ।

गृहमन्त्री लामिछानेले शनिबार चितवनमै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रधानमन्त्री दाहालले ‘कु’तर्क कसैले पनि गर्न नहुने बताए ।

‘वाहियात कुरा हो त्यो, कुतर्क कसैले पनि गर्न हुँदैन’, दाहालले भने, ‘जीबी राईलाई ल्याउनपर्छ भन्ने कुरामा सरकार प्रष्ट छ ।’

प्रधानमन्त्री दाहालले भने, ‘त्यो पासपोर्टको इस्युले गर्दा अलिकति समस्या भएको छ । त्यसलाई हल गर्न खोजिँदैछ । अघिल्लो सरकारले, प्रधानमन्त्रीले, अघिल्लो गृहमन्त्रीले भगायो भन्नु बेतुकका कुरा हुन् ।’

दाहालले संकटग्रस्त सहकारीबारे अध्ययन गर्न समिति बनाउन सकिने बताएका छन् । उनले सहकारीबारे समिति बनाउने विषयमा गृहमन्त्री लामिछानेले पनि सैद्धान्तिक रूपले विरोध नगरेको बताए ।

तर, प्रधानमन्त्री दाहालले सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री लामिछानेका बारेमा नेपाली कांग्रेसले माग गर्दै आएको संसदीय छानविन समितिका बारेमा अस्वीकार गरेका छन् ।

दाहालले संकटग्रस्त सहकारीका बारेमा अध्ययन गरेर प्रतिवेदन दिने कुरामा सहमति भयो भने त्यसका निम्ति कोसिस गरिने बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको छ । त्यसबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘गृहमन्त्री रविजी सायद एकछिन अगाडि यहीँ हुनुहुन्थ्यो । उहाँले पनि समिति बनाउने कुराको सैद्धान्तिक रूपले विरोध गर्नु भएको छैन । त्यसकारण सबै संकटग्रस्त सहकारीहरूको बारेमा अध्ययन गरेर प्रतिवेदन दिनेमा सहमति भयो भने त्यसका निम्ति कोसिस गर्ने कुरामा सकारात्मक छलफल भएको छ ।’

‘प्रधानमन्त्रीको हैसियतले पर्सी विहानसम्म निकास निकाल्न मैले कोसिस गरेको छु’, दाहालले भने, ‘आज बिहान नेपाली कांग्रेसका नेताहरूको प्रस्तुति हेर्दा निकास निस्कियोस् भन्नेमा नै भएको मैले महसुस गरेको छु ।’

प्रधानमन्त्री दाहालले सहमति भएन भने पनि राष्ट्रपतिले नीति तथा कार्यक्रम बाचन गर्ने कुरामा अवरोध नहुने जनाएका छन् ।

‘यदि सहमति भएन भने पनि कांग्रेसले राष्ट्रपतिलाई अवरोध गर्दैन भन्ने मलाई विश्वास छ’, दाहालले भने, ‘सकेसम्म सहमति हुन्छ । सहमति होस् भन्ने कांग्रेसको चाहना छ ।’

जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने कार्यक्रम छ ।

सोमबार बिहान मुख्यसचिवले राष्ट्रपतिलाई भेटेर नीति तथा कार्यक्रमको प्रति बुझाउने प्रधानमन्त्री दाहालले बताएका छन् ।

प्रधानमन्त्री दाहालले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई शीतलनिवासमा भेट गरेर सरकारको नीति तथा कार्यक्रम पेशका लागि निम्ता दिएका छन् । राष्ट्रपति पौडेलसँग भेट गरेपछि प्रधानमन्त्री दाहाल चितवन आएका हुन् ।

Published : Sunday, 2024 May 12, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया