गृहमन्त्री लामिछाने र आइजीपी कुँवरले मन पराएका एसपीको यस्तो छ हर्कत

काठमाडौं । नेपाल प्रहरीका आइजीपी बसन्तबहादुर कुँवरले ‘काविल’ एसपी भनेर जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यालय प्रमुख बनाएर पठाएका एसपी भुवनेश्वर तिवारी धर्म गुरुङको पाउमा दण्डवत गर्न पुगेका छन् ।

सहकारीको करोडौं रकम अपचलन र ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछाने र आइजीपी कुँवरले एसपी तिवारीलाई धनुषा पठाएका थिए । एसपी तिवारी भने जिल्लामा शान्ति सुरक्षा बनाउनेभन्दा पनि प्रहरीको युनिफर्ममा धर्म गुरुको पाउको छेउमा बसेर खुट्टा ढोग्दै हिँडेका छन् । एसपी तिवारीले प्रहरी संगठनको बदनाम गरिरहेका छन् । धनुषाबाट एसपी तिवारीलाई फिर्ता बोलाएर कारबाही गर्नुपर्ने माग उठेको छ ।

एसपी तिवारीले नेपाल प्रहरी मधेश प्रदेशका प्रहरी प्रमुख (डीआइजी) यज्ञविनोद पोखरेललाई पनि फसाएका छन् । तिवारीले पोखरेललाई धर्म गुरुको खुट्टा ढोगाउन युनिफर्ममा लगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रहरीको युनिर्फम धर्म गुरुका पाउ नजिकै भुँइमा बसेर खुट्टा ढोग्न लागेको तस्बिर एमालेका नेता शम्भु साहले सामाजिक सञ्जालमार्फत भाइरल बनाएका हुन् । युनिर्फममा एसपी तिवारी र डीआइजी पोखरेल धर्म गुरुको पाउमा बसेर खुट्टा ढोग्न लागेको तस्बिर राखेर प्रश्न गरेका छन्, ‘नेपाल प्रहरीको यही काम हो ?’

एमालेका नेता साहले गृहमन्त्री लामिछाने र नेपाल प्रहरीलाई पनि ट्याग गरेका छन् । एसपी तिवारी तथा डीआइजी पोखरेललाई हालसम्म प्रहरी हेडक्वाटर र गृह मन्त्रालयले स्पष्टीकरण मागेको छैन ।

एसपी तिवारी र डीआइजी पोखरेलको पनि निजी जीवन छ । उनीहरूले धर्म गुरुलाई पाउ मोलेर खुट्टा ढोग्न पाउँछन् । तर, नेपाल प्रहरीको युनिर्फममा कुनै धर्म गुरुको खुट्टा ढोग्न पाइँदैन । यो प्रहरी नियमावली विपरित हो ।

एसपी तिवारी र डीआइजी पोखरेललाई हेडक्वाटर र गृह मन्त्रालयले के गर्छ हेर्न बाँकी छ । आइजीपी कुँवरको साथ र समर्थन छ भन्दै एसपी तिवारीले धनुषामा कसैलाई पनि टेरपुच्छर लगाउँदैनन् ।

एसपी तिवारीको प्रशंसा र बयान गरेर आइजीपी कुँवर कहिल्यै पनि थाक्दैनन् । आइजीपीले मन पराएका एसपी तिवारीको ताल धनुषामा त्यस्तो छ ।

केही हप्ता अगाडि तराईका ७ जिल्लाका एसपीहरूलाई समय नपुग्दै आइजीपी कुँवर र गृहमन्त्री लामिछानेले सरुवा गरेका थिए । त्यस क्रममा धनुषा प्रहरीका एसपीको पनि सरुवा भएको थियो । आइजीपी कुँवरले धनुषामा आफू निकटका एसपी तिवारीलाई पठाएका थिए ।

एसपी तिवारीले धुनषामा शान्ति सुरक्षा बनाउनेभन्दा पनि युनिर्फममा धर्म गुरुलाई ढोगेर आशीर्वाद लिएर धर्मको आडमा शान्ति सुरक्षा बनाउन खोजेको धनुषादेखि काठमाडौंसम्म चर्चा छ ।

Published : Monday, 2024 May 13, 12:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया