नेकपाका राम्रा नेतालाई देउवाले कांग्रेसमा स्वागत गर्दै, ट्वाँ परे नवराज सिलवाल

ललितपुर । ललितपुर जिल्लाका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका छन् ।

राष्ट्रिय जागरण अभियान अन्तर्गत शुक्रबार ललितपुरको लगनखेलमा हुन लागेको सभामा सत्तारुढ नेकपाका जिल्ला नेता रामकृष्ण हुमागाइँ नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका हुन् ।

उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराउने कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिए ।

एमाले पृष्ठभूमि भएका नेता हुमागाइँ ललितपुर जिल्लामा नेकपाका लोकप्रिय र चर्चित नेता हुन् । ललितपुर क्षेत्र नम्बर १ मा उनले टिकट पाउने स्थानीयले अपेक्षा लिएका थिए ।

तर, नेपाल प्रहरीमा कीर्तेकाण्डमा विवादमा परेका नवराज सिलवाललाई टिकट दिएपछि हुमागाइँ असन्तुष्ट बनेका थिए । प्रतिनिधि सभाको टिकट नपाए पनि प्रदेशमा टिकट पाउने हुमागाइँले अपेक्षा लिएका थिए । तर, हुमागाइँलाई प्रदेशमा पनि टिकट दिइन ।

ललितपुर जिल्लाको तत्कालीन समयमा हुमागाइँ ०४९ र ०५४ मा बुखेल गाविसको अध्यक्ष जितेका थिए । हुँमागाइँ नेकपाका जिल्ला सदस्य समेत हुन् ।

तत्कालीन एमालेको जिल्ला अध्यक्षका लागि हुमागाइँले उम्मेदवारी दिएका थिए । हुमागाइँ अर्का प्रत्यासी मधुसुदन पौडेलसँग जम्मा दुई भोटले अध्यक्ष पदमा पराजित भएका थिए ।

एमाले र अहिले नेकपामा पेलानमा पर्दै आएका हुमागाइँले अन्ततः पार्टी छाड्ने निर्णयमा पुगेका छन् । हुमागाइँले नेकपा छाड्नेवित्तिकै आफ्ना सहयोगी साथीहरूसहित शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका हुन् ।

हुमागाइँसहित नेकपाका नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेसका सभापति देउवाले पार्टीमा भित्र्याउने छन् ।

हुमागाइँ जस्ता राम्रा र ललितपुरका शक्तिशाली नेताले पार्टी छाड्दा नेकपाका सांसद नवराज सिलवालसहितका नेताहरूलाई धक्का पुग्नेछ ।

Published : Friday, 2019 June 7, 9:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया