सभापति देउवा र डा.कोइरालासँग महासचिव पोख्रेलद्वारा भेटवार्ता, कांग्रेस–एमाले नजिकिँदै

काठमाडौं । दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूबीच सम्वाद तथा परामर्शहरू भइरहेका टिकाटिप्पणी आइरहेका बेला सभापति शेरबहादुर देउवासँग महासचिव शंकर पोखरेलले भेटवार्ता गरेका छन् ।

बिहीबार राजधानीमा कांग्रेस सभापति देउवा र एमालेका महासचिव पोखरेलबीच भेटवार्ता भएको हो । भेटमा कांग्रेसका नेता डा.शशांक कोइराला पनि सहभागी रहेका थिए ।

वैवाहिक समारोहमा भएको देउवा, पोखरेल र डा.कोइरालाको भेटलाई लिएर सत्ता राजनीतिमा उथलपुथल भएको छ ।

कांग्रेसका शीर्ष नेताहरूसँग पोखरेलले भेट गरेको कुरालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबैभन्दा धेरै सशंकित भएको चर्चा छ ।

भेटमा के के कुराकानी भयो ? सभापति देउवा र महासचिव पोखरेलको सचिवालयले केही भनेको छैन । तर, उनीहरूका बीच मुलुकको राजनीतिक स्थायित्व र पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको हुन सक्ने बुझिएको छ ।

सभापति देउवासँगको भेटपछि महासचिव पोखरेलले तस्बिर आफै सार्वजनिक गरेका छन् । यसअघि कांग्रेसका नेताहरूलाई भेट्न रुचि नदेखाउने एमालेका महासचिव पोखरेलले सभापति देउवा र नेता डा.कोइरालासँगको भेटको तस्बिर आफै सार्वजनिक गर्नुलाई विभिन्न अड्कल भइरहेका छन् । कांग्रेस र एमालेबीच सम्बन्ध सुधार भएर विश्वासको चरणमा पुगेको चर्चा भएका छन् । यो भेटलाई सबैभन्दा धेरै टाउको दुखाइको विषय दाहाललाई भएको हुन सक्छ ।

प्रधानमन्त्री दाहालले कांग्रेससँगको सहकार्य तोडेर एकाएक एमालेसँग नयाँ गठबन्धन बनाउन पुगेका थिए । नयाँ गठबन्धन र सरकार गठन भएको दुई महिना पनि पुगेको छैन ।

नयाँ गठबन्धनमा एमाले र नेकपा (एकीकृत समाजवादी)का बीच निकै ठूलो शीतयुद्ध छ । एमालेका अध्यक्ष खड्गप्रसाद ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बोलचाल नै हुन छाडेको छ । ओली र नेपालका कारण प्रधानमन्त्री दाहाल निकै तनाबमा छन् ।

ओली र नेपालले सार्वजनिक कार्यक्रममा एकले अर्कालाई घोचपेच गर्दै आएका छन् । प्रधानमन्त्री दाहालले एमालेका अध्यक्ष ओलीका अभिव्यक्तिलाई पछ्याउँदै एमालेको नारा, नीति तथा कार्यक्रम र राजनीतिक विषयलाई पछ्याउन खोजी रहेका छन् ।

यस्तो अवस्थामा एमालेका अध्यक्ष ओलीसँग निकै निकट र विश्वासिला मानिने महासचिव पोखरेलले वैवाहिक समारोहको बहानामा सभापति देउवा र नेता डा.कोइरालालाई भेट गरेको तस्बिर सार्वजनिक गर्नु कांग्रेस–एमालेबीचको सम्बन्ध सुधार भएको संकेत हुन सक्ने राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कांग्रेस र एमालेबीच अनौपचारिक कुराकानी, सम्वाद, छलफल वा वैवाहिक कार्यक्रमको भेट आदिलाई लिएर कसैले पनि आशंका गर्न नहुने बताएका छन् । उनले मुलुकका दुई ठूला दलका नेताहरूबीच जहाँ पनि, जहिले पनि सम्वाद हुने कुरालाई अन्यथा लिन नहुने बताए ।

कांग्रेस प्रमुख प्रतिपक्ष दल र एमाले सत्तापक्षको सबैभन्दा ठूलो दल रहेकाले सभापति देउवासँग महासचिव पोखरेलले वैवाहिक वा अन्य कार्यक्रममा भेट्नुलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् ।

Published : Friday, 2024 April 26, 1:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया