‘बोल माया’पछि प्रकाश सपुतको ‘गलबन्दी’ले पायो साथ

काठमाडौं । ‘बोल माया’ बोलको गीतबाट एकाएक चर्चामा आएका गायक प्रकाश सपुतको त्यस्तै अर्को गीत आएको छ । प्रकाश सपुतको यस पटकको गीत मायाप्रेममा आधारित छ ।

यसअघि आएको गीत ‘बोल माया’ विदेशमा गएको युवकको मृत्युसँगको समवेदना जोडिएको थियो । त्यो गीतले अत्याधिक चर्चा कमाएको थियो । धेरैभन्दा धेरै दर्शक स्रोताले ‘बोल माया’लाई मनपराइदिएका थिए ।

अहिले ‘गलबन्दी’ बोलको गीतलाई गायक प्रकाश सपुतले सिक्वेलका रुपमा निकालेका छन् । ‘बोल माया’मा स्वर दिएकी गायिका शान्तिश्री परियारले ‘गलबन्दी’मा पनि स्वरमा साथ दिएकी छिन् ।

शान्तिश्री परियारको स्वरले ‘गलबन्दी’मा प्रकाश सपुतलाई म्याच गरेको छ । लोक दोहोरी ‘गलबन्दी’ आफ्नै युट्युब च्यान ‘प्रकाश सपुत’बाट रिलिज गरिएको थियो ।

‘गलबन्दी’लाई चार दिनमा १७ लाखले युट्युबमा हेर्न भ्याएका छन् । कमेन्ट दश हजारभन्दा धेरै आएका छन् । सबै कमेन्टहरू ‘गलबन्दी’को पक्षमा छन् । युट्युबमा ‘गलबन्दी’ले एक लाखभन्दा धेरै लाईक पाएको छ । झण्डै तीन हजार डिस लाइक पनि आएको छ ।

‘गलबन्दी’का शब्द र लय स्वयं प्रकाश सपुतका हुन् । उनले मीठो लय र शब्दहरू राखेका छन् । मोडलिङमा प्रकाश सपुतलाई अञ्जली अधिकारीले साथ दिएकी छिन् । गीतको निर्देशन स्वयं प्रकाश सपुतले गरेका छन् । गीतका एरेञ्जर कृष्ण बिक ‘भाञ्जा’ हुन् भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।

गीतमा गाउँको अत्यन्तै परम्परागत स–साना विषयहरूलाई जोडिएको छ । म्युजिक भिडियोमा राखिएका ती दृष्यले गीतलाई जीवन दिएको छ । गायक प्रकाश सपुतले ‘गलबन्दी’पछि यसकै अर्को सिक्वेल निकाल्ने जनाएका छन् ।

Published : Thursday, 2019 May 30, 11:41 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया