कम्युनिस्ट सरकारले दह्रोसँग खुट्टा टेक्न सकेनः रामहरि खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले वर्तमान दुई तिहाइको सरकारले दह्रोसँग खुट्टा टेक्न नसकेको बताएका छन् ।

ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिकाको सेर्नाममा बुधबार प्रजातान्त्रिक आन्दोलनका योद्धा क्याप्टन यज्ञबहादुर थापाको पूर्णकदको शालिक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले दुई तिहाइको बहुमत हुँदा पनि सरकारले काम गर्न नसकेको बताए ।

‘सरकारको दह्रो खुट्टी छैन । तपाई पनि नेकपाको अध्यक्ष हो’, उनले भने, ‘निर्वाचनका बेला वृद्ध भत्ता पाँच हजार पुर्‍याउँछु भन्ने आश्वासन कता गयो ?’

गणतन्त्र ल्याउनमा गिरिजाप्रसाद कोइराला, कुलबहादुर गुरुङ, पुष्पकमल दाहाल ‘प्रचण्ड’हरूको विशेष योगदान रहेको बताएका युवा नेता खतिवडाले भने, ‘शहीद एउटा दल वा व्यक्तिको मात्रै हुँदैन । यज्ञबहादुर थापाको पनि गणतन्त्र ल्याउनमा योगदान छ ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले विप्लवलाई शान्ति प्रक्रियामा ल्याउन सुझाव दिए । ‘प्रचण्ड र विप्लव विगतमा सँगै युद्ध गर्नुभएको थियो’, उनले भने, ‘सिंहदरबारकै छेउमा बम पड्काउन थालेका छन् । उनीहरूलाई सहि ठाउँमा ल्याउनु पर्छ । शान्ति प्रक्रियामा ल्याउनु पर्छ ।’

कांग्रेसका युवा नेता खतिवडाले ओखलढुंगाको विकासमा सत्तारुढ दलको दोस्रो तहको अध्यक्ष भएको नाताले विशेष भूमिका खेल्न आग्रह गरे । ‘चिशंखुगढीमा प्रचण्डज्यूलाई स्वागत गर्दा धुलोले पनि स्वागत गर्न पाइयो’, उनले व्याङ्ग्य गर्दै भने, ‘तपाईलाई रातो टीकाले मात्रै होइन सेतो धुलोले पनि स्वागत गर्न पाइयो ।’

खतिवडाले ओखलढुंगाको विकासमा प्रचण्डले पनि विगतमा सहयोग गरेको बताए । ‘ओखलढुंगाको विकासमा मैले भनेको कुरालाई विगतमा तपाईले भनेको मान्नुभएको छ’, उनले भने, ‘अब पनि सहयोग गर्नु हुनेछ । यहाँ बाटोको समस्या छ । बिजुलीको समस्या छ । खानेपानीको समस्या छ । यो समस्यालाई समाधान गर्न सहयोग गरिदिन आग्रह गर्दछु ।’

Published : Wednesday, 2019 May 29, 11:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया