पहिला कांग्रेस बनाऔँ, पछि पार्टीभित्र झगडा गरौँलाः दीपक गिरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले कांग्रेस बलियो भयो भने मात्रै मुलुकमा लोकतन्त्र बलियो हुने बताएका छन् ।

नेपाल प्रेस युनियनको २८औँ वार्षिक उत्सवका अवसरमा सोमबार साँझ काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री गिरीले नेपाली कांग्रेस कमजोर हुँदा लोकतन्त्रमाथि प्रहार हुन थालेको बताए ।

‘कांग्रेस कमजोर हुँदा चारैतिरबाट संविधान, अभिव्यक्ति स्वतन्त्रता र नागरिकका हकअधिकारमाथि प्रहार भइरहेका छन्’, उनले भने, ‘मुलुकमा अधिनायकवादको शुरुवात गरिएको छ । यसलाई रोक्न पनि हामी बलियो हुन जरुरी छ ।’

वर्तमान सरकारले ल्याउन लागेको मिडियो काउन्सिल विधेयकको विरोध गरेका कांग्रेस नेता गिरीले स्वतन्त्र प्रेसमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप र नियन्त्रण नेपाली कांग्रेसलाई मान्य नहुने बताए ।

‘लोकतन्त्रको सुन्दर पक्ष भनेको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेस हो’, उनले भने, ‘दुई तिहाइको सरकारले स्वतन्त्र प्रेससँग डराएर नियन्त्रण गर्न लागेको छ ।’

नेपाली कांग्रेसको जागरण अभियानले संगठन सुदृढीकरणमा सहयोग मिलेको उनको भनाइ थियो । ‘कांग्रेसको जागरण अभियानका विभिन्न टिकाटिप्पणी आएका छन्’, केन्द्रीय सदस्य गिरीले भने, ‘अहिले हामी मिलेर जाने हो । पार्टीका नेताहरू कसैको आलोचना गर्ने बेला होइन । पहिल कांग्रेस बनाऔँ त्यसपछि पाखुरा सुर्कासुर्की गरौँला ।’

जागरण अभियानले कांग्रेसप्रति जनताको समर्थन ह्वात्तै बढेर आएको गिरीले दाबी गरे । ‘जे भएपनि जागरण अभियानले कांग्रेसलाई फाइदा पुगेको छ’, उनले भने, ‘गाउँका जनतालाई कांग्रेस र केन्द्रसँग जोड्न सहयोग मिलेको छ ।’

कांग्रेसका केन्द्रीय सदस्य नेता गिरीले नेपाल प्रेस युनियनलाई अधिवेशन गर्न पनि सुझाव दिए । ‘सबैलाई लोकतान्त्रिक मार्गमा हिँडाउने नेपाल प्रेस युनियन पनि लोकतान्त्रिक बन्नुपर्छ । समयमा अधिवेशन गर्नुपर्छ’, उनले भने, ‘मेरो तर्फबाट पार्टीमा के सहयोग गर्नुपर्छ गर्न तयार छु । तपाईहरूले अधिवेशन गरेर लोकतन्त्रमाथि विश्वास गर्ने पत्रकारहरूलाई एक ठाउँमा ल्याउनुस् ।’

Published : Tuesday, 2019 May 28, 9:35 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया