करातेभित्रको विवाद मिल्यो, ३ महिनाभित्र निर्वाचन

काठमाडौं । नेपालको कराते महासंघभित्रको विवाद बिहीबारदेखि अन्त्य भएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त करातेका दुई महासंघ अस्तित्वमा थिए । दावा गुरुङको नेतृत्वमा रहेको कराते महासंघलाई राष्ट्रिय खेलकुद परिषदको मान्यता थियो ।

पुनेन्द्र बिक्रम लाखे अध्यक्ष रहेको कराते महासंघलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएको थियो ।

युवा तथा खेलकूद मन्त्रालयले गठन गरेको विवाद समाधान समस्या सहजीकरण समितिको पहलपछि एकीकरण सम्भव भएको हो ।

एकीकरण गरिएको कराते महासंघको नेतृत्व शम्भु आर्चायले गरेका छन् । आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिटी गठन भएको छ ।

कमिटीको सहअध्यक्षमा दावा गुरुङ, उपाध्यक्ष पुनेन्द्र बिक्रम लाखे रहेको छन् ।

महासचिव हरिशरण केसी, सहमहासचिव ओमकृष्ण प्रसाईं, सचिव वीआर मित्र, सचिव श्याम शेर्पा र कोषाध्यक्ष सानुलाल श्रेष्ठ छन् ।

सदस्यमा छत्र आले, राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायण मगर, यादव काफ्ले, धोजमान मोक्तान, निवास गोपाल वैद्य, धुव्रविक्रम मल्ल, तारा ओली, दुर्गा गौतम परियार, रवि महर्जन र मिङ्गमा तामाङ चयन भएका छन् ।

तर्दथ समितिले आगामी ३ महिनाभित्र निर्वाचन गर्नुपर्नेछ । ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले कराते खेलको विकासका लागि दुवै महासंघका अध्यक्षले गरेको त्यागलाई समान गर्नुपर्ने बताए ।

राष्ट्रिय मान्यताप्राप्त कराते महासंघका अध्यक्ष तथा तदर्थ कमिटीका सहअध्यक्ष गुरुङले कराते खेलको विकासकै लागि एकीकरणमा आफू र आफ्नो टिम सहमत भएको बताएका छन् ।

सन् २०११ मा तत्कालीन राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव युवराज लामाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यताप्राप्त नेपाल कराते महासंघ अस्तित्वमा हुँदाहुँदै राष्ट्रिय मान्यताप्राप्त भन्दै आफ्नो संरक्षकत्व तथा दावा गुरुङको अध्यक्षतामा नेपाल कराते महासंघ पुनरगठन गरेको थियो ।

युवा तथा खेलकूद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले दुई छुट्टाछुट्टै कराते महासंघको एकीकरण भएकामा खुशी व्यक्त गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आठौँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक जितेपछि नेपालले कराते खेलमा खासै उपलब्धि हासिल गर्न नसकेको बताए ।

कराते महासंघको विवाद मिलाउन राष्ट्रिय खेलकुद परिषद पूर्व कोषाध्यक्ष एवम् करातेका अन्तर्राष्ट्रिय रेफ्री मीनकृष्ण महर्जनले विशेष सहयोग गरेका थिए । महर्जनले कराते खेलका खेलाडी र विकासका लागि सबैले आ–आफ्नो गाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।

Published : Wednesday, 2019 February 27, 10:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया