ओलीले पदीय गरिमा भुलेपछि कांग्रेसले सम्झाइदियो हैसियत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो पदीय गरिमाको ख्याल गर्न सुझाव दिएका छन् । शर्माले ओलीलाई पदीय गरिमालाई ख्याल नगरेर बोलेको आरोप लगाए ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै शर्माले ओलीलाई आफ्नो कर्ममा विश्वास गर्न र पदीय दायित्वलाई ध्यान दिन सुझाव दिए । ‘यो देशमा बुद्धिजीवी बोल्न नपाउने ? बोल्यो भने थला पार्ने ?’, शर्माले भने ।

उनले सरकारको आलोचनालाई निषेध गरेर लोकतन्त्रमा बोल्न रोक लगाउन नपाइने बताए ।

‘नेपाली कांग्रेसको तर्फबाट बुद्धिजीवीहरूमाथि प्रधानमन्त्रीले लगाएको आक्षेपको घोर भर्त्सना गर्न चाहन्छु’, शर्माले भनेका छन् । अरूलाई धम्की नदिन प्रधानमन्त्री ओलीलाई प्रवक्ता शर्माले चेतावनी दिएका छन् ।

‘प्रधानमन्त्री ओलीलाई के सुझाव दिन चाहन्छु भने थला पार्ने धम्की नदिनुहोस्, आफ्नो कर्ममा विश्वास गर्नुहोस्’, उनले भनेका छन्, ‘आफ्नो कर्ममा बौद्धिकतालाई स्थान दिनुहोस् ।’
‘यस्तो प्रकारको जवाफ दिनुपर्दैन, इतिहासमा कर्म लेखिन्छ बोली लेखिँदैन’, शर्माले भनेका छन् ।

जनतासँग प्रधानमन्त्री कार्यक्रममा बुद्धिजीवीहरूप्रति लक्षित गर्दै ओलीले वादविवादमा उत्रिए आफूले उनीहरूलाई थला पार्न सक्ने अभिव्यक्ति दिएका थिए । ओलीको त्यो अभिव्यक्तिको सबैले आलोचना गरेका छन् ।

Published : Thursday, 2018 December 6, 6:51 pm

1 प्रतिकृया प्राप्त “ओलीले पदीय गरिमा भुलेपछि कांग्रेसले सम्झाइदियो हैसियत”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया