कांग्रेसले खोल्यो कम्युनिस्ट सरकारको अनियमितताको फाइल, यी मन्त्रीलाई बोलायो बयानका लागि

काठमाडौं । कम्युनिस्ट सरकारले वाइडबडी विमान खरिदमा अनियमितता गरेको दाबी गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छानबिन गर्न माग गरेको छ ।

कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिदमा ठूलो आर्थिक अनियमितता गरेको दाबी गरे । उनले छानबिन गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा माग गरेका छन् ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा कांग्रेसका नेता एवम् सांसद डा.रिजालले देशलाई आर्थिक भार पर्ने गरी विमान खरिदमा अनियमितता भएको बताए । विमान खरिदमा भएको अनियमिततालाई छानबिनको दायरामा ल्याउन कांग्रेसको तर्फबाट उनले माग गरे ।

डा.रिजालका अनुसार कांग्रेसको भर्खरै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले वाइडबडी विमान खरिदमा अनियमितता भएको ठहर गरेको बताए । अनियमितताको आरोप लागेको विमान खरिदको विषयमा समिति चुप लागेर बस्न नहुने उनले बताए ।

निगमले नौं प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएर दुई वटा वाइडबडी विमान खरिद गरेको थियो । ती विमानहरूका कारण निमगलाई ठूलो नोक्सानी र घाटा भैरहेको छ भने विमान खरिदमा ठूलो अनियमितताको आरोप लागेको छ ।

लेखा समितिका सभापति भरतकुमार शाहले वाइडबडी विमान खरिदका सम्बन्धमा छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीलाई बोलाउन जानकारी दिएका छन् । लेखा समितिलाई प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेतृत्व गरेको छ ।

Published : Tuesday, 2018 November 20, 6:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया