कांग्रेसको महासमिति बैठक मंसिर पहिलो साता

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले महासमितिको बैठक मंसिरको पहिलो साता काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शनिबार बसेको केन्द्रीय कर्यासमिति बैठकमा उपसभापति विमलेन्द्र निधिले महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव राखेका हुन् ।

उपसभापति निधिले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति गठनको प्रस्ताव गरेका थिए । उनले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सभापतिहरूलाई स्थानीय तयारी समिति संयोजकको रुपमा रहनेछन् ।

महासमिति बैठकमा उपसभापति निधिले राजनीतिक प्रस्ताव, महामन्त्री डा.शशांक कोइरालाले सांगठनिक प्रस्ताव तथा आर्थिक नीति मस्यौदा प्रस्ताव सहमहामन्त्री डा.प्रकाशशरण महतले तयार पार्ने छन् ।

विधान मस्यौदा समितिमा जिल्ला सभापतिहरूमध्येबाट दुई जनालाई स्थायी आमन्त्रित सदस्यको रुपमा राख्ने प्रस्ताव रहेको छ । विधान मस्यौदा समितिको गठन प्रक्रियामा जिल्ला सभापतिहरूको प्रतिनिधित्व नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असहमति जनाएपछि शुक्रबारको बैठक प्रभवित भएको थियो । शनिबार पनि सोही विषयमा विवाद हुँदा बैठक पाँच घण्टा ढिलो बसेको थियो ।

सभापति देउवाले दुई सभापतिलाई स्थायी आमन्त्रित सदस्यको रुपमा राख्न बचन दिएपछि नेता पौडेलले अनुशासन समितिमा पनि संयोजक भीष्मराज आंगदम्बेको सट्टा अर्को सिनियर सदस्यको संयोजकत्वमा गठन गरी बलबहादुर केसीलाई राख्ने प्रस्ताव राखेपछि अनुशासन समिति गठन हुन नसकेको एक नेताले बताए । नेपाली कांग्रेसको अर्को बैठक भदौ २१ गते बस्ने गरी स्थगित भएको छ ।

Published : Saturday, 2018 August 25, 6:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया