सहकारी ठग भनेर कमेन्ट गर्ने ठकुरीलाई गृहमन्त्री लामिछानेले प्रहरी लगाएर दिए टर्चर, विष सेवनबाट घायल

काठमाडौं । सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेविरूद्द सहकारी ठगीको विषयमा कमेन्ट गर्दा प्रहरीले दुःख दिएको भन्दै गणेशमान सिंह ठकुरीले विष सेवन गरेका छन् ।

जाजरकोटको कुशे गाउँपालिका स्थायी घर भएका ठकुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरी गृहमन्त्री लामिछानेविरुद्ध किन फेसबुकमा कमेन्ट गरेको भन्दै मानसिक तनाब दिएपछि उनले प्रहरीको काठमाडौंस्थित साइबर ब्यूरोकै ढोकामा विष सेवन गरी आत्महत्या प्रयास गरेको ठकुरीका भाइ मानबहादुर ठकुरीले बताएका छन् ।

विष सेवन गरेपछि प्रहरीले नै ठकुरीलाई वीर अस्पताल पु¥याएको थियो । वीरमा उपचार हुन नसकेपछि राति ठकुरीलाई कीर्तिपुरस्थित बर्न अस्पतालको आइसियुमा भर्ना गरिएको छ । उनको अवस्था चिन्ताजनक रहेको मानबहादुर ठकुरीले बताएका छन् ।

गृहमन्त्रीको आदेश छ–१० वर्ष जेल हाल्छौं भन्दै प्रहरीले ठकुरीलाई धम्क्याएको भाइ मानबहारले भनेका छन् ।

घटना सार्वजनिक भएपछि गृहमन्त्री लामिछाने र उनको सचिवालयले अघोषित रूपमा सुरक्षा निकायको दुरूपयोग गरी विचार अभिव्यक्तिमाथि प्रतिबन्ध लगाउन खोजेको छ । आफ्ना आलोचकहरूलाई दमन गरेर लामिछानेको समूह लागेको छ ।
गृहमन्त्री लामिछानेमाथि अहिले उठिरहेको सहकारी ठगीको विषय उठाउँदा आफूलाई प्रहरीले टर्चर दिएको ठकुरीले बताएका छन् ।

ठकुरी त्रिभुवन विश्वविद्यालयमा अध्ययननरत विद्यार्थी हुन् । उनले आफूलाई कमेन्ट लेखेको विषयलाई लिएर नेपाल प्रहरीको साइबर व्यूरोले टर्चर दिइरहेको आफ्ना साथीहरूलाई बताएका थिए ।

विष सेवन गर्नुअघि ठकुरीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्याम ओझालगायतलाई म्यासेज गरेका थिए ।

ठकुरीको कीर्तिपुर अस्पतालमा उपचारका लागि लगिएको त्रिविका स्ववियु सभापति श्यामराज ओझाले बताए ।

सभापति ओझाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेसबुकमा रवि लामिछानेविरुद्ध एउटा पेजमा कमेन्ट गरेका आधारमा साइबर व्यूरोले लगातार बोलाउने, धम्क्याउने, जेल हाल्ने त्रास दिने गरिरहेको थियो । आज पनि बोलाएर धम्क्याएपछि साथीले सहन नसकेर विष सेवन गर्नु भएछ अनि बिहान निम्न अनुसारको म्यासेज पठाएपछि हामी खोजिमा लाग्यौं !’

‘तर, व्यूरोको ८८ नम्बरले केस हेरिरहेको थाहा पाएपछि बिष खाएको म्यासेज आएको छ, हेर्नुस् त के भयोभन्दा उल्टै हामीलाई धम्क्याएर फोन राखियो’, ओझाले भनेका छन् ।

‘यो नियत के हो ? गृहप्रशासन कसरी यस्तो भयो ? अब यो देशमा चोरहरू, ठगहरू जोगिने भए, अराजकहरू सबै छुट पाउने तर, केहि मान्छेमात्र निसानामा पर्ने भए ! गृहमन्त्री ज्यू तपाईंको विरुद्धमा कमेन्ट गर्न नपाउने कस्तो लोकतन्त्र हो यो, कस्तो गृहप्रशासन ?’, सभापति ओझाले प्रश्न गरेका छन् ।

गोर्खा मिडिया प्रालिका नाममा ग्यालेक्सी टिभी सञ्चालन गर्दा आफैं सञ्चालक समितिमा रहेका लामिछानेमाथि सुप्रिम, सूर्यदर्शनलगायतका सहकारीबाट करोडौं रूपियाँ लिएर अपचलन गरेको आरोप लागेको छ ।

गृहमन्त्री लामिछानेको नाम लिएर यसअघि नुवाकोटका शालिकराम पुडासैनीले आत्महत्या गरेका थिए । पुडासैनीको आत्महत्या प्रकरणमा लामिछानेलाई प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा पनि चलाएको थियो । लामिछानेले गृह मन्त्रालय सम्हालेपछि सामाजिक सञ्जाल अनुगमनका नाममा आफ्नो पक्षमा नलेख्नेलाई साइबर अपराधको मुद्दा लगाउने धम्की प्रहरीमार्फत दिन थालेको प्रहरी उच्च स्रोतले बताएको छ ।

पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले पनि आफूहरूको रकम डुबाएको भन्दै रवि लामिछानेविरुद्ध उजुरी दिएका छन् । गत माघ २२ मा लामिछानेविरुद्ध उजुरी परेपछि प्रहरीले छानबिन अघि बढाएको थियो । छानबिन नसकिँदै लामिछाने गृहमन्त्री बनेका थिए । उनले छानबिनमा खटिएको टोलीका प्रहरीलाई सरुवा गरेका छन् ।

सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रूपियाँ हिनामिना भएको बचतकर्ता नै बताउँछन् ।

सहकारी ठगी प्रकरणमा लामिछानेमाथि सदन र सडक दुवै ठाउँबाट छानबिनकोे माग भइरहेको छ । यो विषयालाई सामसुम पार्न सरकारले संसद् हिउँदे अधिवेशन नै अन्त्य गरेको छ ।

Published : Thursday, 2024 April 25, 8:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया