कांग्रेसले पत्ता लगायो सरकारको धुन्धुकारी असफलता

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार अधिनायवादी बाटोतर्फ उन्मुख भएको र शान्ति सुरक्षा दिन असफल रहेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा शुक्रबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा डा.महतले ओलीको सरकार शान्ति सुरक्षा दिन असफल भएको बताएका हुन् ।

उनले भने, ‘सरकार पूरै असफल भएको छ । हरेक समस्याहरूलाई अनुसन्धान गर्नबाट पछि हटेको छ । बलात्कार, अपहरणका घटनाहरू बढी रहेका छन् । यस्तो स्थितिमा सरकार गम्भीर भएको छैन, नेकपाका नेताहरू दुई तिहाईको दम्भ र अंहकारको मानसिकताले सरकार चलाउदैछन् ।’

ओलीको कम्युनिस्ट सरकारले अहंता र घमण्ड राखेकै कारण शान्ति सुरक्षा मात्र नभइ हरेक ठाउँमा असफलता पाइरहेको उनले बताए । उनले भने, ‘कर्मचारीलाई तर्साने, न्यायालयमाथि हस्तक्षेप गर्ने जस्ता कुराले सरकारलाई असफलतातिर लगेको छ ।’

केही दिनअघि भक्तपुरमा भएको बालक अपहरण र हत्या गरिएको घटनालाई स्मरण गर्दै उनले वर्तमान सरकार शान्ति सुरक्षा दिन असफल भएको बताए ।

उनले भने, ‘सुन्दा पनि कहाली लाग्दो त्यो घटनालाई सरकारले गम्भीर रुपमा लिएको भए बालकलाई जिउँदै बचाउन सकिन्थ्यो कि ? सरकारको ध्यान पुगेको छैन । बलात्कारका घटनाहरू त्यस्तै रुपमा बढी रहेका छन् ।’

Published : Friday, 2018 August 10, 11:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया