गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठ चोघेरामा धर्मशालाको शिलान्यास

घोराही । दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ चौघेरामा रहेको प्राचीन एवम् पुरातात्विक महत्व बोकेको गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा सिद्धरत्ननाथ धर्मशालाको शिलान्यास गरिएको छ ।

बुधबार शिलान्यास गरिएको धर्मशाला लुम्बिनी प्रदेश सरकार पर्यटन डिभिजन कार्यालय, कोहलपुर, बाँकेमार्फत निर्माण हुनेछ ।

गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठका मठाधीश योगी ब्रह्मनाथ, घोराही–१७ का वडाध्यक्ष रामलौटन चौधरी, धर्मशाला निर्माण समितिका अध्यक्ष बलदेव योगीलगायतले संयुक्तरुपमा शिलान्यास गरेका छन् ।

सुविधासम्पन्न सभाहलसहित ३० कोठा भएको तीन तले धर्मशाला निर्माण हुन थालेको धर्मशाला निर्माण समितिका अध्यक्ष बलदेव योगीले बताए ।

धर्मशाला निर्माण भएपछि गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा पूजापाठ तथा ऐतिहासिक पक्षको अध्ययन गर्न आउने भक्तजनसँगै साधुसन्तहरूलाई सहजता हुनेछ ।

बहुवर्षीय योजनाअनुसार पाँच करोड बढीको लागतमा निर्माण हुन थालेको धर्मशालाका लागि यो वर्ष ३० लाख रुपियाँ बजेट विनियोजन भएको छ ।

बजेटबाट धर्मशाला निर्माणको काम शुरु भएको र आगामी वर्ष क्रमशः थप बजेटबाट पूर्वाधार निर्माणको काम हुने अध्यक्ष योगीले बताए ।

गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको विकासका लागि आर्थिक वर्ष २०७९÷०८० मा बनेको गुरुयोजना अनुसार धर्मशाला निर्माणको काम अघि बढेको छ ।

चौघेरा मन्दिर परिसरमा व्यवस्थित तथा सुविधासम्पन्न धर्मशाला, योगी नरहरिनाथ अध्ययन केन्द्र, गौशाला, समाधिस्थल, हरित पार्क, व्यवस्थित पुस्तकालय, पानीका लागि डिप बोरिङलगायत पूर्वाधारहरू निर्माण हुनेछन् ।

Published : Thursday, 2024 April 25, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया