वैदिक सनातन धर्मको संरक्षण र हिन्दु राष्ट्रबारे कांग्रेस नेता भण्डारीद्वारा परामर्श

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले सनातन धर्म र संस्कृतिलाई जोगाउनु पर्ने दायित्व रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले वैदिक सनातन धर्मको संरक्षण जरुरी रहेको बताए । उनले हिन्दु राष्ट्र बनाउने अभियानमा कसरी जान सकिन्छ भनेर सबैको सुझाव महत्वपूर्ण रहेको बताए ।

उनले नेपाललाई हिन्दु राष्ट्र स्थापनाका लागि सबैको सहयोग रहेको बताएका छन् ।

उनले भने, ‘७५ जिल्लामा ८० प्रतिशत मानिस हिन्दु राष्ट्रका पक्षमा छन् । नेपालको राजनीति कहाँ छ ? हामी कहाँ छौँ ? धार्मिक, सांस्कृतिक र सामाजिक संस्कारमाथि आक्रमण भइरहेको छ ।’

नेता भण्डारीले अनुशासनहीन कार्यहरू भइरहेको भन्दै समाज बिग्रिएकोमा चिन्ता जनाएका छन् । उनले समाजमा अनुशासन आवश्यक रहेको बताएका छन् ।

नेता भण्डारीले वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण तथा हिन्दु राष्ट्र स्थापना अभियानका लागि पूर्व कुटनीतिज्ञ, अन्तर्राष्ट्रिय संस्थामा काम गरेका विशिष्ट पदाधिकारी तथा विज्ञहरूसंग अन्तरक्रिया गरेका छन् ।

कार्यक्रममा भीम उपाध्याय, बैकुण्डप्रसाद अर्याल, भानुभक्ता ढकाल, भीम पराजुली, चोपलाल भुसाल, रङगमती शाही, मुक्ताकुमारी यादव, निरञ्जन थापा लगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2024 May 3, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया