फुकेट सांस्कृतिक कार्यक्रममा घोटालाको आशंका, खर्च विवरण लुकाउन कसरत

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डले फुकेटमा सम्पन्न साँस्कृतिक कार्यक्रमको खर्च विवरण गुपचुप राखेको छ ।

नयाँ वर्षको अवसरमा फुकेट सहरमा नेपालबाट कलाकार ल्याएर साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

ठूलो तामझाम देखाएर गरिएको कार्यक्रम व्यावसायिक तथा सहभागितामूलक हिसाबमा असफल बन्दा पदाधिकारी नै असन्तुष्ट बनेका बेला नेतृत्वले कार्यक्रमको आयव्ययसहितको विवरण सार्वजनिक गर्न आनाकानी गरेको छ ।

यसले नेतृत्वको पारदर्शितामाथि प्रश्न उठाएको छभने आयव्ययको अडिटमा घोटाला हुनसक्ने आशंका असन्तुष्ट पदाधिकारीले गरेका छन् ।

एनआरएनए थाइल्यान्डका पदाधिकारीका अनुसार फुकेटको कार्यक्रममा अपेक्षा गरेभन्दा नेपालीहरूको निकै न्यून सहभागिता रहेको थियो ।

त्यसमाथि कलाकार समेत समयमा नआउँदा हतार हतार कर्मकाण्डको रूपमा कार्यक्रम गर्नुपरेको थियो ।

कार्यक्रममा नेपालबाट गायिका अस्मिता अधिकारी, श्रीकृष्णबम मल्ल, धिरज राई, राजेश विष्ट, सदीक्षा नेपाल, गरिमा शर्मा, सुन्दर विकेलाई आमन्त्रण गरिएको छ ।

कार्यक्रम अपेक्षाकृत नभई घाटा भएपछि पदाधिकारी असन्तुष्ट बनेका छन् । नेतृत्व कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गर्न हच्किएको छ ।

त्यसमाथि कलाकारलाई प्रस्तुतिका लागि भन्दा पनि घुमाउन ल्याएको जस्तो भएको उनीहरूको गुनासो छ ।

यद्यपि नेतृत्वले भने कार्यक्रममा नाफा भएको दाबी गर्दै आएको छ ।

कुनै पनि संस्थाको विधानअनुसार भए गरेका गतिविधि अडिट देखिने गरि सार्वजनिक गर्नुपर्छ । अझ विशेष अवसरमा हुने सांस्कृतिक कार्यक्रम, मेला महोत्सवको खर्च विवरण तत्कालै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

तर, एनआरएनए थाइल्यान्डको नेतृत्व यसलाई वेवास्ता गर्दै हिँडेको छ । कार्यक्रम (१४ अप्रिल) सम्पन्न भएको ११ दिन बढी वितिसक्दा पनि खर्च विवरण सार्वजनिक गर्ने कुनै सरसार छैन ।

अझ एनआरएनए थाइल्यान्डकै पदाधिकारीले समेत कति कारोबार भयो, नाफा÷घाटा के भयो ? भन्ने समेत थाहा पाउन सकेका छैनन् ।

एक पदाधिकारी भन्छन्, ‘नाफा कमाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कति टिकट विक्री भए, कति स्पोन्सर आयो, कति खर्च भयो, कति लगानी भयो, लक्ष्य के थियो, कति घाटा नाफा भयो भन्ने थाहा पाउन सकिएको छैन । बाहिर घाटा भयो भन्नेमात्रै सुनिएको छ । यसको सत्य तथ्य सार्वजनिक हुनुपर्छ ।’

त्यसो त एनआरएनए थाइल्यान्डले यस अगाडि पनि आयोजना गरेका कार्यक्रमको आयव्यय सार्वजनिक गर्ने गरेको छैन ।

यो प्रवृत्तिको सदस्यहरूबाट विरोध भए पनि नेतृत्वले सुनेको छैन । नेतृत्व संस्थामा अपारदर्शी बन्दै जाँदा सदस्यहरू दिन प्रतिदिन असन्तुष्ट बन्दै गएका छन् ।

नेतृत्व अपारदर्शी बन्दा संस्थाकै छविमा आँच आउने चिन्ता उनीहरूले गरिरहेका छन् ।

यता, एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले खर्च विवरण सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् । एक डेढ हप्तापछि राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर कार्यक्रमको समीक्षा गर्ने र विवरण सार्वजनिक गरिने बस्नेतको भनाइ छ ।

अध्यक्ष बस्नेतले फुकेटको कार्यक्रममा घाटा होइन नाफा भएको दाबी पनि गरेका छन् ।

Published : Thursday, 2024 April 25, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया