ललितपुरमा डान्स बारमा प्रहरी छापा, ठूलो रकमसहित ३१ पक्राउ

काठमाडौं । ललितपुर, काठमाडौं र कञ्चनपुर जिल्लामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ठूलो रकमसहित ३१ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ घर भएका ६७ वर्षीय सानु पन्ना चनले संचालन गरेको खाजा घरमा प्रहरीले छापामारेको जनाएको छ । खाजा घरमा जुवा (पारा) खेलिरहेको अवस्थामा चन समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग गरेको नगद ८८ हजार रूपियाँ, सिक्का ४६ थान, सेपर १ थान, लुडो ४ थान र सिमीको दानासहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख ।

उता, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित लालबहादुर सिंहको कालीका रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भिमदत्त नगरपालिका–१८ बस्ने ४५ वर्षीय आशिषकुमार खत्री समेत ११ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ३ सय २९ रूपियाँ र १३१ पत्ती ताससहित पक्राउ गरेको छ ।

यता, ललितपुर महानगरपालिका–८ ग्वार्कोस्थित सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय बिषु तामाङको नन स्टप डान्स बारमा कौडा खेलिरहेको अवस्थामा तामाङ समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३७ हजार ९ सय ६० रूपियाँ र १९ पिस कौडासहित पक्राउ गरेको हो ।

Published : Thursday, 2024 April 25, 1:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया