कम्युनिस्टहरूको कर्तुतले कांग्रेस आन्दोलित भयोः देउवा

गैडाकोट । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका गलत कर्तुतले गर्दा आन्दोलनको अवस्था सिर्जना भएको बताएका छन् । उनले सरकार आफैंले आन्दोलनका लागि निम्तो दिएको बताए ।

नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनको १० औं राष्ट्रिय महाधिवेशनको शनिबार नवलपुर जिल्लामा उद्घाटन गर्दै देउवाले आन्दोलनमा कांग्रेसको रहर नभएको बताए । उनले भने, ‘सरकारका एकपछि अर्का कदम र निर्णयले गर्दा आन्दोलन गर्नु परेको छ ।’

कम्युनिष्टहरू स्वभावले प्रजातान्त्रिक हुन नसक्ने उनको भनाइ थियो । ‘सरकार अधिनायकवादतर्फ जान खोजेको छ’, देउवाले आरोप लगाए ।

संघ र प्रदेशको निर्वाचनमा कांग्रेसभित्रको अन्तरघातका कारण कांग्रेस पराजित भएको देउवाले बताए । ‘कम्युनिष्टहरू दुई पार्टी एक भए, हामी भने दुई पार्टी झै भयौं’, देउवाले भने, ‘अन्तरघातका कारण २५ देखि ३० सिटसम्म हारेका छौं ।’ देउवाले अन्तरघातको रोग हटाउनुपर्ने बताए ।

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट पार्टीभित्र पलाएको अधिनायकवादसँग लड्नुपर्ने बेला आएको बताए । उनले कम्युनिस्टहरूको अधिनायकवाद रोक्न कांग्रेस बलियो र एकढिक्का हुनुपर्ने बताए ।

Published : Saturday, 2018 July 28, 4:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया