कांग्रेसको ‘पावर’ देख्यो कम्युनिस्ट सरकारले

काठमाडौं । अनशनरत डा.गोविन्द केसीको माग पूरा गर्ने तर्फ कम्युनिस्ट सरकारले बेवास्ता गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ ।

संसदको सोमबारको बैठकको शुरुवातमै कांग्रेसका सांसदहरूले आमरण अनशनरत डा.केसीका माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै कुर्सीबाट उठेर विरोध जनाएका थिए ।

सोही क्रममा कांग्रेसका सांसद पुष्पा भुषालले आमरण अनशनरत डा गोविन्द केसीका माग सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको र वार्ताका लागि कुनै ठोस् पहल नगरेको आरोप लगाइन् ।

उनको प्रश्न थियो, ‘मुलुकमा बाढी, पहिरो र डुबानले आक्रान्त हुनुका साथै रोगको संक्रमण फैलिने सम्भावना छ, यस्तो अवस्थामा स्वास्थ्यकर्मीको आन्दोलन चर्केर मुलुकका अस्पतालमा स्वास्थ्य सेवा बन्द भएपछि जनताको स्वास्थ्य हालत के होला ?’

कांग्रेसले आमरण अनशनरत डा गोविन्द केसीका माग सम्बोधन हुनुपर्छ भनेर आवाज उठाउँदा संसद्मा डा केसी कांग्रेसलाई भोट हालेको मान्छे भनेर कुरा उठ्नु दुःखद् भएको उनले बताइन् ।

सांसद भुषालले डा केसी जीवनमरणको अवस्थामा रहेको बेला संसद् बैठक अघि बढाउन सहयोग गर्न नसकिने बताइन् ।

सभामुख कृष्णबहादुर महराले डा केसीका माग बारेको विषय संसद्मा प्रवेश भएको र सरकार पनि गम्भीर देखिएको बताएका थिए । उनले त्यस बारेमा सरकार के भन्न चाहन्छ र सरकारको धारणा के छ, सरकारका कुरा सुन्नलाई सदनको कारबाही अघि बढाउन दिनुप¥यो भनेर आग्रह गरेका थिए ।

सभामुखको पटकपटकको आग्रहपछि पनि कांग्रेसका सांसद आसन ग्रहण नगरी उभेर विरोध गरिरहेपछि सभामुख महराले संसद् बैठक स्थगनको घोषणा गरेका थिए ।

यसअघि सोमबार नै संसद्मा कांग्रेसको अवरोधका कारण बैठक आधा घण्टाका लागि स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक आगामी साउन ३ गते दिउँसो १ बजे बस्नेछ ।

Published : Monday, 2018 July 16, 6:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया