रेष्टुरेन्टका नाममा यस्तो बखेडा, रङ्गेहात भेटेपछि जोडीलाई देश निकाला

काठमाडौं । नेपालको राजनीतिक अस्थिरताको लाभ उठाउँदै क्रिश्चियन धर्म प्रचारमा संलग्न रहेका समाचार आइरहेका बेला सरकारले एक जोडीलाई देश निकाला गरको घटना सार्वजनिक भएको छ ।

व्यावसायिक भीसामा नेपाल आएर क्रिश्चियन धर्म प्रचार गर्दै आएका फिलिपिन्स र इन्डोनेसियाका नागरिकहरूलाई अध्यागमनले गत शुक्रबार देश निकाला गरेको हो । उनीहरू एक वर्षसम्म नेपाल भित्रिन पाउनेछैनन् ।

ललितपुरको पुल्चोकमा रेष्टुरेण्ट चलाएर बसेका फिलिपिन्सका नागरिक दे भेरा रिर्चड र इन्डोनेसियाकी रीता गोङ्गाले कुमारीपाटीको ‘इभर नेसन चर्च’मा पादरी भई इसाईधर्म प्रचार गर्दै आएका थिए । उनीहरू नाताले पति र पत्नी हुन् ।

स्थानीयले उनीहरूविरुद्ध उजुरी गरेपछि अध्यागमनले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा दोषी पाइएपछि देश निकाला गरेको अध्यागमनका महानिर्देशक दीपक काफ्ले जानकारी दिए ।

भीसाको दुरुपयोग गरेर क्रिश्चियन धर्मको प्रचार गरेका कारण देश निकाला भएको यो जोडी पहिलो हो । नेपाल प्रवेश गरेर गलत काममा संलग्न हुन थालेपछि विदेशी नागरिकहरूलाई अध्यागमनले निगरानी समेत गर्न थालेको छ ।

उनीहरूलाई अध्यागमनले सिल्क एयरबाट सिंगापुर हुँदै फिलिपिन्स पठाएको छ । चर्चमा स्वयंसेवक र पादरीका रुपमा रही उनीहरूले इसाई धर्म प्रचार गरेका थिए ।

रिर्चडले इसी ६७६४२१४ नम्बरको फिलिपिन्सको र उनकी पत्नी रीताले वी ३२२१९३५ नम्बरको इन्डोनेसियाको राहदानी लिएका छन् ।

Published : Monday, 2018 July 9, 10:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया