नरेन्द्र मोदी र भारतीय सुरक्षाकर्मीको विरोध गर्नेविरुद्ध यसरी रिसाए ओली

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको समयमा भारतीय सुरक्षाकर्मी नेपाल ल्याएको विषयमा प्रतिपक्षीले अनावश्यक टिकाटिप्पणी गरेको भन्दै भारतीय सुरक्षाकमी नेपाल आएको विषयको बचाउ गरेका छन् ।

मंगलबारदेखि चीनको औपचारिक भ्रमणमा जानुअघि आफ्नो भ्रमणको बारेमा प्रतिनिधिसभामा जानकारी दिने क्रममा सोमबार प्रधानमन्त्री ओलीले भारतीय सुरक्षाकर्मी नेपाल आउने कुरा सामान्य विषय भएको दाबी गरे ।

प्रमुख प्रतिपक्षी दलका नेतादेखि सांसदहरूले भारतीय प्रधानमन्त्री मोदीको साथमा ठूलो संख्यामा सुरक्षाकर्मी आएर मुक्तिनाथ भ्रमणपछि पनि भारतीय सुरक्षाकर्मी केही दिन बसेको भनि आलोचना गरेको विषयप्रति लक्षित गर्दै ओलीले भने, ‘केही न केही टिप्पणी आउँदो रहेछ । मान्छेहरूले यस्ता टिकाटिप्पणी गर्न रुचाउँदा रहेछन् ।’

नेपालले कुनै पनि विदेशी मित्रराष्ट्रका सरकार प्रमुख नेपाल भ्रमणमा आउँदा सुरक्षा प्रदान गर्न नेपाली सेना र नेपालको सुरक्षा निकाय सक्षम रहेकोमा मुलुकको सुरक्षा निकायप्रति अविश्वास पैदा हुने गरी भारतीय सुरक्षाकर्मी ल्याएर गल्ति गरेको भन्ने विपक्षीको आरोपको उनले खण्डन समेत गरे ।

‘हामी जाँदा पनि युनिफर्ममा गच्छे अनुसार सेक्यरिटी भारत गएको छ । भारत जाँदा दुईटा अथवा चारवटा आर्मीका जवान लिएर जाँदा भारतले सेक्युरिटी दिन सक्दैन र लिएर आएको? भारतमा आउँदा सेक्युरिटी लिएर आउनु पर्छ, सेक्युरिटी हामी गर्न सक्दैनौँ भनेर भारतले भन्दैन’, ओलीले मोदीको सुरक्षाकर्मी आगमनको बचाउका लागि तर्क गर्दै भने ।

यसरी सुरक्षाकर्मी लिएर जाने अथवा आउने सेक्युरिटीको तरिका भएको दाबी गर्दै उनले आजको दुनियाँमा सेक्युरिटीको प्रश्नलाई यथोचित ढंगले स्थान, परिस्थिति, व्यक्ति विशेष, देश विशेष र समय विशेष पनि तय हुने जिकिर उनले गरे ।

‘यस्ता केहि केही विषय अनावश्यक ढंगले उठे पनि भ्रमण सफल रहेको छ’, मोदीको झण्डै डेढ महिना अघिको भ्रमणको गुणगान गाउँदै प्रधानमन्त्री ओलीले भने ।

भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आएपछि नेपालको पर्यटन व्यवसाय मौलाएको दाबी उनले भने, ‘विगतमा अफ सिजनको समयमा पोखराका होटलहरू खाली हुने गर्दथे । तर अहिले अफ सिटनमा पनि पर्यटकले पोखरामा कोठा पाउन मुस्किल छ ।’

Published : Monday, 2018 June 18, 6:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया