अधिनायकवाद लाद्न खोज्ने ओली–महरालाई कांग्रेसले नाकैमुनि सिकायो पाठ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग महिनाको पहिलो हप्ता प्रश्न र उत्तर गर्ने परम्परा विपरित संसदको बैठक सञ्चालन गरेको भन्दै सभामुख र सरकारको आलोचना गरेको छ ।

आइतबार संसदको बैठक शुरु हुनै लाग्दा नेपाली कांग्रेसका सांसद् एवम् नेता डा.मीनेन्द्र रिजालले सभामुखले स्वविवेकीय आधारमा संसद बैठक चलाएको भन्दै आपत्ति जनाए ।

‘संसद नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो बैठकमा प्रधानमन्त्रीसँग संसदमा सांसदहरूले प्रत्यक्ष रुपमा प्रश्न र उत्तर गर्ने व्यवस्था छ’, उनले भने, ‘सभामुखले संसदको बैठक स्वविवेकीय आधारमा चलाउन पाइँदैन ।’

नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्न र उत्तरको विषयलाई उठाएपछि सभामुख कृष्णबहादुर महराले सो विषयमा सरकार तथा प्रधानमन्त्रीसँग समन्वय गरेर उपयुक्त व्यवस्था गर्ने बताएका थिए । महराले संसदको कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर निर्णय गरिने बताए ।

सांसद डा.रिजालले सरकारले कांग्रेसका सांसदहरू संसदबाट कहिले बाहिर जानेछन् भनेर कुरेर बसेको छ भने त्यो कदापि पूरा नहुने बताए । ‘कांग्रेस जनताको कुरा र अधिकारका लागि संसदमा आएको हो’, उनले भने, ‘संसदबाट कहिल बाहिर जाला भनेर सरकारले सोँचेको छ भने त्यो इच्छा पूरा हुनेछैन । कांग्रेसले आफ्नो जिम्मेवारी पूरा गर्छ ।’

सत्तापक्षको कुर्सी खाली भए पनि कांग्रेसका सांसदहरू बसेका कुर्सी खाली नहुने उनको भनाइ थियो । ‘सत्तापक्षका सांसदहरू कुर्सीमा खुट्टा पसारेर बस्दा हुन्छ’, उनले भने, ‘तर विपक्षी दलको कुर्सीहरू खाली हुने छैन ।’

Published : Sunday, 2018 June 17, 2:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया