ओली–प्रचण्डद्वारा मुख्य योजनाकारलाई नै बहिष्कार, बामदेवले खोले रहस्य

ललितपुर । एमालेका उपाध्यक्ष एवम् पार्टी एकता संयोजन समितिका सदस्य बामदेव गौतमले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण पार्टी एकीकरणमा ढिलाइ भएको आरोप लगाएका छन् । गौतमले पार्टी एकीकरण नहुने हो कि भनेर आफूलाई आशंका बढ्न थालेको बताए ।

एमाले र माओवादी केन्द्रको सिन्धुली–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार ललितपुरको गोदावरीमा आयोजित वनभोज कार्यक्रममा गौतमले ओली र दाहालमाथि गम्भीर प्रश्न उब्जिएको आरोप लगाए ।

‘एमाले–माओवादी केन्द्रबीचको एकता के कारणले रोकिएको हो, त्यो मलाई पनि थाहा भएन’, उनले भने, ‘सबै कुरा टुंगिएए पनि एमाले ओली र दाहालले एकतामा ढिलाई गरेका छन् ।’ गौतमले ओली र दाहालको व्यक्तिगत स्वार्थले पार्टी एकीकरणमा ढिलाइ भएरहेको बताए ।

‘एकताका लागि राजनीतिक प्रतिवेदन तयार छ, विधान पनि तयार भइसकेको छ, धेरै कुरा मिलिसकेका छन्’, गौतमले भने, ‘एकता हुँदैन, किन भइरहेको छैन, मलाई पनि थाहा छैन । अब एकता माथिबाट होइन, तलबाट गर्नुपर्छ, केही अप्ठेरो परे म बेहोरौंला ।’

१७ असोजमा गर्ने भनिएको एकता हुन नसक्नुको गुदी कारण के हो ? त्यसबारे एकता संयोजन समितिका अन्य सदस्यलाई ओली–दाहालले जानकारी नगराएको गुनासो पनि गौतमले गरे । ‘एकता नहुनुको कारण ओली–दाहालबाहेक अरु कसैलाई थाहा छैन ।

उनले भने, ‘उहाँहरूबीच के–के कुरा हुन्छन्, एकता संयोजन समितिमा रहेका हामीलाई समेत जानकारी गराइन्न ।’ आफू धेरै एकता प्रक्रियामा सहभागी भएपनि यत्तिको जटिल एकता आफूले अरु नदेखेको गौतमले बताए ।

‘प्रचण्डले माओवादी घटकबीच १६ पटक एकता गराउनु भयो रे ! ०४७ मा माले–मार्क्सवादीबीच एकता भएर एमाले बनेयता विभिन्न समूहसँग ४६ पटक एकता भइसक्यो, ती सबैजसो एकतामा म आफैं संलग्न छु’, गौतमले भने, ‘एमाले–माओवादी केन्द्रबीच जत्तिको जटिल एकता मैले देखेको छैन ।’

उपाध्यक्ष गौतमको उक्साहटमा सिन्धुली–२ ‘क’का एमाले प्रदेशसभा सदस्य विनोद खड्काले ओली–दाहालले एकतामा ढिलाई गरे सिन्धुलीबाट पार्टी एकताको थालनी गर्ने चेतावनी दिए । त्यसैको अभ्यासस्वरुप दुबै पार्टीका सिन्धुली काठमाडौं सम्पर्क मञ्चले संयुक्त रुपमा वनभोज आयोजना गरेको बताए ।

वनभोज कार्यक्रममा सहभागी माओवादी केन्द्रका नेता अग्नि सापकोटाले केन्द्रको निर्देशन र आदेशविपरित कुनै पनि अप्रिय कदम नउठाउन चेतावनी दिए । ‘मुलुक बिग्रेको प्रक्रिया प्रक्रिया नमानेर हो, पार्टी एकता कसरी गर्ने, त्यसको पनि प्रक्रिया हुन्छ’, उनले भने, ‘विना प्रक्रिया एकता गरियो भने झन अराजकता सिर्जना हुँदैन ?’

वनभोज कार्यक्रममा उपाध्यक्ष गौतम एमालेका कार्यकर्तासँग छमछमी नाचेका थिए । वनभोज कार्यक्रम भनिए पनि क्याटरिङमार्फत पकाइएको खाना खुवाइएको थियो ।

Published : Sunday, 2018 April 29, 7:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया