‘फुरफुर’ गर्ने पौडेल–सिटौला समूहलाई देउवाले पाठ सिकाउने

काठमाडौं । नेपाली कांग्रेसका नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले सभापति शेरबहादुर देउवालाई घेराबन्दी थालेको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चैत ९ गतेदेखि सुरु हुन लागेका बेला विपरित ध्रुवका पौडेल र सिटौला देउवालाई अफ्ठ्यारो बनाउन एक हुने प्रयास गरेका हुन् । यति मात्रै होइन पौडेल–सिटौला समूहले शुक्रबार काठमाडौंमा संयुक्त रुपमा गुटको भेला समेत गरेका छन् ।

देउवाले कांग्रेस कब्जा गरेको भन्दै गुटको भेलामा पौडेल–सिटौला समूहले गुनासो गरेका थिए । गुटको भेलामा सहभागी केन्द्रीय सदस्य प्रदीप पौडेलले समसामयिक विषयमा छलफल गर्न बोलाइएको भेलामा संयोगबस सभापति देउवा पक्षका नेताहरू अनुपस्थित रहेको बताए ।

सिटौलाले सभापतिमा देउवालाई सहयोग गरेका थिए । सिटौलाकै कारण पौडेलले सभापतिमा पराजय भोग्नु परेको थियो । अहिले आएर पौडेल र सिटौला समूह नजिकिएका छन् । उनीहरूको यो मिलनलाई देउवा समूहले अप्राकृतिक गुटको संज्ञा दिएको छ ।

निकै कमजोर भइसकेका पौडेलले सिटौलालाई साथमा लिएर बलियो गुट चलाउने योजनामा पुगेको एक नेताले बताए । पौडेललाई महामन्त्री डा.शशांक कोइरालासहितका नेताहरूले छाड्ने संकेत गरेका छन् । संसदीय दलको निर्वाचनका बेला महामन्त्री डा.कोइरालाले त्यसको छनक दिएका छन् ।

महामन्त्री डा.कोइरालाको कदमबाट नेता पौडेल चिन्तित हुन पुगेका छन् । पौडेलले आफ्नै प्रतिद्वन्द्वी भए पनि देउवालाई घेराबन्दी गर्न सिटौलाको सहयोग लिन खोजेको भनेर आरोप लागेको छ ।

उता, पौडेल र सिटौला समूहले गुटको भेला गरेर अफ्ठ्यारो पार्ने चाल पाएपछि सभापति देउवाले पनि नयाँ रणनीति बनाएका छन् । देउवा समूहका विमलेन्द्र निधि, डा.प्रकाश शरण महत, मीन विश्वकर्मासहितका नेताहरूले पौडेल–सिटौला समूहलाई काउन्टर दिने गरेर कार्यक्रम गर्ने तयारी थालेका हुन् ।

देउवा समूहले चैत ९ गतेको केन्द्रीय कार्यसमिति बैठकलाई केन्द्रमा राखेर भेलामा योजना बनाउनेछन् ।

Published : Saturday, 2018 March 17, 6:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया