कम्युनिष्टको आरोपबाट ओलीलाई छुटकारा, भारतलाई फेरि धक्का

काठमाडौं । कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीले आफूलाई सफल प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् । कम्युनिष्ट सरकारको आरोपलाई ओलीले खण्डित गरिदिएका छन् ।

लोकतान्त्रिक सिद्धान्त बोकेको राष्ट्रिय जनता पार्टी नेपाल र थोरै कम्युनिष्ट र केही लोकतान्त्रिक छवि बोकेको संघीय समाजवादी फोरम नेपाललाई आफू नेतृत्वको सरकारमा सहभागी गराउने निर्णय गरेर ओलीले कम्युनिष्टको आरोपलाई खण्डित गरिदिएका हुन् । अन्तिममा राष्ट्रियता र लोकतन्त्रका लागि नेपाली कांग्रेस मात्रै देखिएको छ ।

अन्तर्राष्ट्रिय समुदायले ओली सरकारलाई कम्युनिष्ट सरकार भनेर असहयोग गर्ने हो कि भन्ने आरोप अब लाग्ने छैन । राजपा र संघीय फोरमले साथ दिएपछि ओलीलाई कम्युनिष्टको आरोपबाट छुटकारा मिलेको छ ।

भारतसँग निकट सम्बन्ध रहेको राजपा नेपालले एकाएक ओली सरकारलाई किन समर्थन गर्न पुगेको छ रहस्य बनेको छ । भारतकै कारण राष्ट्रवादी छवि बनाएका ओली फेरि पनि भारतलाई चक्कमा दिने मोडमा पुगेका छन् । राजपा ओली सरकारमा सहभागी हुने निर्णयलाई भारतको अर्को हारको रुपमा टिप्पणी हुन थालेको छ ।

आदर्श राजनीति जहिले पनि एजेन्डा र सिद्धान्तले निर्देशित हुन्छ । लोकतान्त्रिक प्रणालीमा राजनीतिक दलहरूले आआफ्नो एजेन्डा र सिद्धान्तलाई जनताबाट अनुमोदन गराउँछन् । जनताबाट जसको एजेन्डा र सिद्धान्त स्वीकृत हुन्छ उसले नै आवधिक रूपमा शासन सत्ताको बागडोर सम्हाल्छ ।

नेपाली राजनीति फेरि एकपटक दलहरूको सत्तामुखी चरित्र र नेताहरूको पदलोलुपताको सिकार बन्नेतर्फ उन्मुख भएको छ । सत्ता टिकाउन र सत्तामा पुग्न जस्तोसुकै सम्झौता पनि गर्ने अनि जनअनुमोदित सिद्धान्त र एजेन्डालाई रद्दीको टोकरीमा फाल्ने क्रम नेपाली राजनीतिमा फेरि सुरु भएको छ ।

ओली त्यही सत्तामुखी राजनीतिको मियो बनेका छन् । उनी आफ्नो सत्तालाई दुई तिहाईको समर्थन जुटाउन आफ्नो विगतको अडान, एजेन्डा र राजनीतिक चरित्र बिर्सिर्दै ‘लम्पसारवाद’तर्फ उन्मुख भएका छन् । योसँगै उनलाई समर्थन गर्न लालायित देखिएका राजनीतिक दलहरू पनि जनताको अभिमतलाई पन्छाएर सत्ता र पदको लोभमा आफ्ना एजेन्डा र सिद्धान्त बिर्सिएर अघि बढिरहेका छन् ।

ओलीले दुई तिहाईको समर्थन प्राप्त गरेमा नेपाली राजनीतिको इतिहासमा दुई तिहाई समर्थनको सरकार बनेको यो दोस्रो परिघटना बन्नेछ । २०१५ सालको आम निर्वाचन पछि जननायक बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले पहिलो पटक दुई तिहाई बहुमतमा एकल दलको सरकार बनाएको थियो । दोस्रो पटक ओलीले त्यो सौभाग्य पाउँदैछन् ।

दुर्भाग्य, दुई तिहाई प्राप्त गर्न उनले आफ्ना एजेन्डा, सिद्धान्तलाई तिलाञ्जलि दिनु परेको छ । उनी र उनको दललाई मत दिनेहरूको भावनालाई कुल्चेर त्यसको मूल्यमा उनले दुई तिहाईको सौभाग्य पाउँदैछन् । उनलाई समर्थन गर्ने दलहरूले पनि आफ्ना मतदाताको भावनालाई सत्तासँग साटेर ओलीलाई त्यो सौभाग्य प्रदान गर्दैछन् ।

कुल २७५ मध्ये २०९ सांसद्को समर्थन ओलीलाई प्राप्त हुनेछ । जबकि दुई तिहाईका लागि १८४ सांसद्को समर्थन भए पुग्छ । अर्थात् ओलीले दुई तिहाईभन्दा बढीको समर्थन पाउँदैछन् । यस मानेमा ओलीले इतिहास रच्दैछन् । तर, यस प्रकारको अप्राकृतिक दुई तिहाई समर्थनबाट बनेको सरकारले मुलुकमा स्थिरता र समृद्धि ल्याउला भन्ने आशा गर्नु बाञ्छनीय नभएको राजनीतिक पर्यवेक्षकहरूको बुझाइ छ ।

Published : Sunday, 2018 March 11, 8:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया