देउवाको ‘धमाकेदार’ जित, सिंहको पत्तासाफ, गुटभित्रै धोका

काठमाडौं । प्रतिद्वन्द्वीलाई दुईतिहाइ मतले हराउँदै कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।

देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट नेता प्रकाशमान सिंहले दलको नेतामा उम्मेदवारी दिएका थिए । सिंहलाई आफ्नै गुटका सांसदहरूले मतदान नगरेको उच्च स्रोतले जनाएको छ ।

सिंहलाई महामन्त्री डा.शशांक कोइराला, भीमसेनदाश प्रधान, उमाकान्त चौधरी, डा.मीनेन्द्र रिजाल, डा.नारायण खड्कासहितका सांसदले मतदान नगरेको एक नेताले बताए ।

कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा सोमबार सम्पन्न मतदानमा सभापति देउवाले कूल ६३ मतमध्ये ४४ मत प्राप्त गरेका थिए । प्रतिद्वन्द्वी सिंहले १९ मत प्राप्त गरेको कांग्रेसले जनाएको छ ।

कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।

पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुनेछ ।

उनन्साठी सदस्यीय राष्ट्रियसभामा कांग्रेसका १३ सांसद छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो ।

Published : Monday, 2018 March 5, 5:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया