वाम गठबन्धनभित्र विवाद, मन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँदै

पोखरा । प्रदेश नम्बर ४ मा माओवादी केन्द्रका प्रदेशसभा सदस्यले सल्लाह बिना नै आफू खुशी मन्त्रीमा नाम पठाएको विषयले आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।

प्रदेश नम्बर ४ मा प्रदेशसभामा १२ सिट हासिल गरेको माओवादीले एकै भेगका दुई सदस्यलाई मन्त्री बनाएको भन्दै असन्तुष्ट सदस्यले मन्त्रीमाथि अविश्वासको प्रस्ताव पेश गर्न सकिने बताएका छन् ।

शुक्रबार बेलुका तनहुँबाट निर्वाचित प्रदेशसभा सदस्य तथा संसदीय दलका नेतासमेत रहेका हरिबहादुर चुमान र गोरखाबाट निर्वाचित लेखबहादुर थापालाई मन्त्री सिफारिस गरिएको थियो । चुमानले आन्तरिक मामिला तथा कानून (गृह) र थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

मन्त्रीको शपथ ग्रहणमा केही सदस्य उपस्थित समेत भएनन् । उनीहरुले तत्कालै निर्णय सच्याउन पार्टी भित्रै माग गरिरहेका छन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं प्रदेशसभा सदस्य दीपक कोइरालाले अविश्वसाको प्रस्तावमा आन्तरिक तयारी भइरहेको बताए ।

उनले भने ‘अहिलेको सिफारिस त्रुटिपूर्ण छ । छलफल बिना केही नेताका आफ्ना मान्छेलाई मन्त्री बनाइयो । एकै भेगका दुईजनालाई मन्त्री बनाउँदा अरु भेगलाई अन्याय भएको छ । यो निर्णय मान्य छैन ।’ अविश्वासको प्रस्ताव लैजाने बारे प्रदेशसभा सदस्यबिच छलफल भैरहेको उनले बताए ।

संसदीय दलका उपनेता रामजी बरालले अविश्वासको प्रस्ताव लैजाने अधिकार आफूहरुसँग सुरक्षित भएको भन्दै यसको विषयमा छलफलमा रहेको प्रतिक्रिया दिए । शुक्रबार माओवादी प्रदेश ४ का संयोजक हरि अधिकारी र ईन्चार्ज देव गुरुङको उपस्थितीमा मन्त्री चयन गरिएको हो । मन्त्रीको नाम प्रस्ताव हुने बित्तिकै अरु सदस्यले विरोध जनाएका थिए ।

गठबन्धनमा जम्मा दुई मन्त्री पाएको माओवादीले कास्कीले एउटा मन्त्री पाउनुपर्ने माग गरेका थिए । लेखबहादुर थापालाई हरि अधिकारी र चुमानलाई देव गुरुङको एकल निर्णयले मन्त्री बनाएको उनीहरुको भनाई छ ।

म्याग्दीबाट निर्वाचित प्रदेशसभा विनोद केसीले संसदीय दलको बैठकमा छलफल गरेर मन्त्रीको टुंगो लगाएको भए विवाद नहुने बताए ।

Published : Sunday, 2018 February 18, 10:08 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया