निरीक्षक ठकुरीले घोराहीमै मच्चाएका थिए ‘खतरनाक काण्ड’

घोराही, २१ माघ । काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा सामूहिक बलात्कार काण्डमा मुछिएपछि निलम्बनमा परेका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी दाङ जिल्लामा पनि ठूलो यौनकाण्डमा मुछिएको खुलासा भएको छ ।

तीन वर्ष अगाडि वडा प्रहरी कार्यालय घोराहीमा प्रहरी इञ्चार्ज भएका बेला प्रहरी निरीक्षक ठकुरीले स्थानीय कमला क्षेत्र (नाम परिवर्तन)लाई अभमिन्यू गिरीसँग यौनकाण्डमा मुछेर ठूलो रकम असुलेको रहस्य बाहिर आएको छ । क्षेत्रीलाई गिरीले विवाह गरेको केही समयपछि डिभोर्स दिएका थिए ।

गिरीले भने, ‘कमला क्षेत्रीको महत्वकांक्षाले डिभोर्सको भएको थियो । तर, उनीलाई प्रयोग गरेर प्रहरी निरीक्षक ठकुरीले मलाई अभद्र व्यवहार मात्रै गरेनन् कि पदीय हैसियत विपरित कुटपिट समेत गरेका थिए ।’

घोराही उपमहानगरपालिका नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालको गृहनगर पनि हो ।

निरीक्षक ठकुरीले डिभोर्स भइसकेकी पूर्वपत्नसँगको बलात्कार मुद्दामा फसाउँछु भनेर डरधम्की दिएको पीडित गिरीले बताए । यति लामो समयपछि यो कुरा किन बाहिर ल्याउन चाहनु भयो भन्ने जिज्ञासामा गिरीले भने, ‘त्यस बेला नै मैले घटना बाहिर ल्याउन खोजेको थिएँ । तर, मेरो कुराको सुनुवाई कतै भएन । ठकुरीले कतै पनि उजुरी नदिन धम्की दिएका थिए । अहिले आएर प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी कस्तो मान्छे रहेछ भन्ने कुरा बल्ल सबैले थाहा पाएका छन् ।’

‘दलबलसहित आएका निरीक्षक ठकुरीले मलाई पक्राउ गरेर कुटपिट गरे’, गिरीले भने, ‘मलाई लगाइएका आरोपहरू अस्वीकार गरेपछि सबै कुरा म यहीँ मिलाइ दिन्छु भनेर निरीक्षक ठकुरीले एक लाख पचास हजार मागे । तर, मैले जिल्ला प्रहरी कार्यालयमा जान्छु भनेपछि बलात्कारको मुद्दा चलाएर तँलाई फसाउँछु भनेका थिए । त्यसपछि म डराएँ । ऋणसाउ गरेर पैसा तत्काल बुझाएँ ।’

त्यति मात्रै होइन आफूलाई फसाउन निरीक्षक ठकुरी लागेको थाहा पाएपछि सो घटनाबारे त्यसै बेला १०० मा फोन गरेर गिरीले जानकारी दिएको पनि सुनाए । १०० बाट आफूलाई होसियार हुन सचेत गराएको पनि उनले स्मरण गरे । प्रहरीको १०० मा रहेका प्रहरीले ठूलो सहयोग गरेको गिरीको भनाइ छ ।

‘मलाई फसाउन कहिले कोठामा आगो लाग्यो भन्ने, कहिले हिटर पड्कियो भन्ने जस्ता बहाना गराएर पटक–पटक दुःख दिएका थिए’, गिरीले भने, ‘मलाई एसएसएस गरेर पटक–पटक दुःख दिने काम भएको थियो ।’ प्रमाण रहेको मोबाइल प्रहरी निरीक्षक ठकुरीले खोसेर सबै कलडिटेल, भ्वाइस रेकर्ड तथा एसएमएसहरू डिलेट गरिदिएको गिरीले बताए । गिरीले भने, ‘अहिले पनि मेरो विश्वास लाग्दैन भने त्यस बेलाको फोनको कलडिटेल हेर्दा हुन्छ ।’

निरीक्षक ठकुरीले पूर्वपत्नीसँगको नाम जोडेर ब्ल्याकमेलिङ गरी कागज बनाइ एकलाख ५० हजार रुपियाँ खाइदिएको गिरीले अहिले पनि ताजै स्मरण गर्छन् । ‘दाङको घोराहीमा हुँदा प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले ठूलो अन्याय गरेका थिए’, पीडित गिरीले भने, ‘त्यस बेलाको पाप दरबारमार्गमा धुरीबाट कराएको छ । कसैलाई अन्याय गरेको कुरा ढिलो चाँढो भगवानले निसाफ गर्छन् भन्ने पुष्टि भएको छ ।’

एक हप्ता अगाडि दरबारमार्गमा दरबन्दी रहेका निरीक्षक ठकुरीले कैलालीकी एक युवतीलाई भएको सामूहिक बलात्कारको घटनामा मोटो रकम खाएर दोषीलाई उम्काएका थिए । बलात्कार काण्डमा विकास गौतम, दीपक गौतम र रवि पौडेललाई ठकुरीले नै सेटिङ मिलाएर भगाएपनि प्रहरीले ती युवकहरूलाई पक्राउ गरिसकेको छ ।

प्रहरी निरीक्षक ठकुरीले घोराहीमा जस्तै काण्ड दरबारमार्गमा गरेको भन्दै यस्तालाई हदैसम्मको कारबाहीको माग गरे । गिरीले त्यस बेला आफूलाई दवावमा पारेर गरेको कागज वडा प्रहरी कार्यालय घोराहीमा सुरक्षित रहेको समेत दाबी गरे । सो कागजका बारेमा वडा प्रहरी कार्यालयमा जिज्ञासा राख्दा प्रहरीले केही जानकारी दिन मानेन ।

चौतर्फी दवाव परेपछि प्रहरी मुख्यालयले छानविन समिति बनाएर ठकुरीलाई निलम्बन गरेको छ ।

Published : Sunday, 2018 February 4, 1:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया