एमाले–माओवादीसँगको वार्ता भाँडियो, मिल्यो कुरा कांग्रेससँग

काठमाडौं । एमाले–माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपा नेपालबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रयास असफल भएको छ ।

बाम गठबन्धनले राजपा र संघीय फोरमलाई संविधान संशोधनमा ब्ल्याकमेलिङ गरेको आरोप लगाएपछि राष्ट्रिय सभामा चुनावी तालमेल गर्ने प्रयास तुहिएको हो ।

राजपा र संघीय फोरमले राज्य पुनर्संरचना र संविधान संशोधनको मुद्दा उठाएपछि सहमति प्रयास भाँडिएको एमालेका नेता सुवासचन्द्र नेम्वाङले बताएका छन् । तालमेल गर्ने प्रयासमा एमाले र माओवादी तथा फोरम र राजपाका शीर्ष नेताबीच मंगलबार काठमाडौंमा दुई पटक छलफल भएको थियो ।

प्रदेश २ बाट चयन हुने राष्ट्रियसभाका ८ सिटमा तालमेल गर्न दुबै गठनबन्धन सकारात्मक थिए । मधेसी दलले ६ सिट मागेको थिए । बाम गठबन्धनले ५ सिट लिन प्रस्ताव गरेको थियो । तर, मधेसी दलहरूले राज्य पुनर्संरचनाको मुद्दालाई सर्त बनाएपछि एमाले–माओवादीले तालेमल गर्न नचाहेको जनाइएको छ । ‘एक सिटका लागि राज्य पुनर्संरचनाको मुद्दामा सहमति गर्न सकिँदैन’, एमालका एक नेताले भने ।

मधेसी दलहरुले राज्य पुनर्संरचना आयोग गठन गरेर सीमांकन हेरफेर गर्नुपर्ने बताएको छ । राज्यपुनर्संरचना आयोगको प्रतिवेदन अनुसार संविधान संशोधन गर्ने प्रतिवद्धता खोजिएको राजपाका नेता वृशेषचन्द्र लालले बताए । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बधुबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

नयाँ सहमति नहुने हो भने प्रदेश २ का ८ मध्ये ४ सिट मधेसी गठबन्धन, २–२ सिट कांग्रेस र बम गठबन्धनले जित्नेछन् ।

यदि मधेसी र वाम गठबन्धन मिल्ने हो भने ८ सिटमा कांग्रेस शून्य हुन्छ । कांग्रेस र मधेसी मिल्दा पनि वामले भने ३ सिट सुरक्षित गर्नसक्छ ।

मधेस केन्द्रित दलसँग बाम गठबन्धनको कुरा नमिलेपछि नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरू तालमेल गरेर राष्ट्रिय सभाको सिट बाँडफाँड गर्ने सहमति भएको छ ।

कांग्रेससँग ६ वटा सिटमा तालमेल गर्ने मधेसवादी दलले सहमति गरेका छन् । प्रदेश नम्बर २ मा आठ वटा सिट रहेको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच वार्ता बसिरहेको बेला कांग्रेस नेता मिनेन्द्र रिजाल दुई मन्त्रीसहित बैठक स्थलमा पुगेका थिए ।

त्यहाँ पुगेर रिजालले दुई दुई सिटमा सहमतिको प्रस्तावअघि सारेका हुन् । जसमा मधेसवादी दलले सिट छानेपछि मात्र कांग्रेसले सिट लिने अफर समेत रिजालले अघि सारेका थिए । जसमा मधेशवादी दलले सहमति जनाएका थिए ।

सहमति अनुसार फोरमले दलित र महिला सिट लिने भएको छ । राजपामा भने कुन सिट लिने विवाद रहेको छ । राजेन्द्र महतोले एक महिला सिट लिनुपर्छ भनिरहेका छन् भने महेन्द्र राय यादव अल्पसंख्यक र खुला लिनुपर्छ भन्ने पक्षमा रहेका छन् ।

यदी राजपाले खुला र अल्पसंख्यक लिए खुलाबाट दीपेन्द्र झा र अल्पसंख्यकबाट वृशेष चन्द्रलाललाई उम्मेदवार बनाउने सम्भावना रहेको छ ।

Published : Tuesday, 2018 January 23, 9:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया