मोदीको फोनले ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो, गृहकार्यमा एमाले

काठमाडौं । बैंककमा उपचारपछि केही दिन अगाडि स्वदेश फिर्ता भएका एमालेका अध्यक्ष केपी ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भावी प्रधानमन्त्रीका रुपमा बधाइ दिएपछि नेपाली राजनीतिमा तरंग उत्पन्न भएको छ ।

बैंककमा रहेका बेला ओलीले मोदीका विशेषदूतहरूसँग भेटवार्ता गरेको समाचारहरू केही अनलाइन र साप्ताहिक पत्रिकाहरूले छापेका थिए । सोही समाचारहरूलाई झस्काउने गरेर ओलीलाई मोदीले आइबार फोनमा भावी प्रधानमन्त्रीका रुपमा बधाइ दिँदै भारत भ्रमणको निम्तो दिएपछि हलचल उत्पन्न भएको हो ।

ओलीलाई आइतबार अपरान्ह भारती प्रधानमन्त्री मोदीले टेलिफोन गरेर भावी प्रधानमन्त्रीको रुपमा शुभकामना दिएपछि एमालेभित्र उत्साह छाएको एक नेताले बताए । ‘एमालेको नेतृत्वमा सरकार बन्ने विषयमा अन्यौल थियो’, एमालेका एकजना पदाधिकारीले भने, ‘अब बाम गठबन्धनको नेतृत्वमा सरकार बन्न सहज हुने भएको छ । सायद मधेस केन्द्रित दलहरू पनि एमाले नेतृत्वको सरकारमा सहभागी हुन्छन् ।’

भारतकै दवावमा एमालेको नेतृत्वमा सरकार बन्न ढिलाइ भएको एमालेकै जिम्मेवार नेताहरूले सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आएका थिए ।

मोदीको फोनसँगै एमालेका अध्यक्ष ओली र भारतबीच विग्रिएको सम्बन्ध औपचारिक रुपमा सुध्रिएको स्रोतले जनाएको छ । एमालेका उपाध्यक्ष भीम रावलले पनि नेपाली रेडियो नेटवर्कको बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आफूहरू साधै भारतसँग सम्बन्ध सुधारको पक्षमा रहेको प्रतिक्रिया दिएका छन् ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अनुसार मोदीले ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा बधाई दिएका थिए ।

लीले प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको पनि बताएका अधिकारीले जनाएका थिए ।

ओलीले पनि मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेका छन् ।

मोदीले यसअघिको नेपाल भ्रमणमा यी तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गरेका ओलीका प्रेस संयोजक अधिकारीले बताएका थिए ।

Published : Monday, 2018 January 22, 10:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया